INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा चिकित्सक अभाव, सेवाग्राहीलाई सकस

जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा स्वास्थ्य सेवाग्राहीलाई सेवा लिन सकस भएको छ ।

दरबन्दीका अनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पतालले दैनिक रूपमा प्रवाह गर्ने स्वास्थ्य सेवा समेत नियमित हुन सकेको छैन ।

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या र व्यवस्था गरेको छ ।

मौलिक हकमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनि उल्लेख गरिएको छ ।

तर, भोजपुरवासीलाई स्वास्थ्य सेवा लिनका लागि अस्पतालमा पुगेपछि घण्टौँ कुर्नु पर्ने बाध्यता छ । दरबन्दी अनुसारका चिकित्सक अस्पतालमा नहुँदा स्वास्थ्य सेवा लिनका लागि अस्पताल पुगेका बिरामीहरू दैनिक घण्टौँ पालो कुरेर लाम बस्नु पर्ने बाध्यता छ ।

उपचारका समयमै अस्पताल पुगेपनि रोगको जाँचपड्तालका लागि डाक्टर कुनुपर्ने बाध्यता छ । चारदेखि पाँच घण्टा लाममा बसेपछि मात्र डाक्टरलाई जचाँउन पालो आउने भोजपुर नगरपालिका–७ डाँडागाउँका २९ वर्षीय रवीन्द्र  केसीले इन्सेक प्रतिनिधिसँग भन्नुभयो ।

पैतालामा काँडा (खिल) विझेर अस्पताल जानु भएका केसीको पैतालाबाट खिल निकाल्न १५ मिनेट लाग्यो, तर खिल निकाल्नका लागि पौने चार घण्टासम्म कुर्न परेको केसीले गुनासो गर्नु भयो । उहाँ जस्तै दैनिक अस्पताल आउने सबैलाई सास्ती हुने गरेको छ ।

बर्खाको समयमा दुर्गम क्षेत्रमा यातायातका साधन चल्दैनन् । जिल्ला अस्पतालमा उपचार गराउनका लागि दुई दिनको पैदल यात्रा गर्नुपर्ने अवस्था छ ।

दैनिक सयौंको सङ्ख्यामा आउने ग्रामीण क्षेत्रका वासिन्दालाई धेरै सास्ती हुने गरेको छ ।

चिकित्सक, स्वास्थ्य विशेषज्ञ नहुँदा जिल्ला अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवा भरपर्दो समेत नभएको बिरामीहरूको गुनासो छ ।

आलोपालो गर्दै बिरामीको चेकजाँचमा खट्ने स्वास्थ्य चिकित्सकहरू कार्यालय समयभन्दा अधिक समय खटिनुपर्ने अवस्था रहेको चिकित्सक रचना श्रेष्ठले बताउनु भयो । दरबन्दी अनुसारको स्वास्थ्य कर्मचारी नहुनु र भएका डाक्टरहरूको पनि सरुवा र सेवा अवधि सकिनुले अस्पतालको सेवा प्रवाह नाजुक भएको श्रेष्ठको भनाइ छ ।

जिल्ला अस्पतालमा आवश्यकता अनुसारका चिकित्सक दरबन्दी परिपूर्ति गर्नका लागि तीन तहका सरकारले चासो नदिँदा जनशक्ति अभाव खट्किएको अस्पतालका डाक्टर सञ्जय रानाले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो– विगत तीन महिनादेखि दुई जना एमबीबीएस डाक्टरको भरमा अस्पतालको सम्पूर्ण जिम्मेवारी हेरिरहनु परेको छ ।

पर्याप्त चिकित्सक नहुँदा एकै जनाले सम्पूर्ण सेवा धान्न भ्याइनभ्याइ हुने डाक्टर सञ्जय रानाको भनाइ छ । ‘चिकित्सक अभावमा बहिरङ्ग सेवा अवरूद्ध भइरहेको अवस्था छ । बिरामीलाई पनि पालो कुर्नुपर्ने, रिपोर्ट पर्खनुपर्ने बाध्यता छ । अहिले एकदमै चर्को जिम्मेवारी थपिएको छ । दुईजना डाक्टरको भरमा अस्पताल धानिरहेका छौं ।’ डाक्टर रानाले गुनासो गर्नु भयो । डाक्टर रानाका अनुसार जनशक्तिको व्यवस्थापन नहुँदा दुई जना डाक्टरलाई अस्पतालको आकस्मिक शल्यक्रिया, अपरेसन, इमरजेन्सी, ओपीडी, पोस्टमार्टम, तालिम, राउन्ड लगाउनुपर्ने, बिरामीको चेकजाँच सेवामा भ्याइनभ्याइको अवस्था छ ।

जिल्ला अस्पतालमा समयमै उपचार नपाउने अवस्थाले बिरामी र गर्भवती महिलालाई जिल्लाबाहिर लैजानुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर थापाले बताउनु भयो । थापाले भन्नुभयो ‘सङ्घीय, प्रदेश र स्थानीय सरकारले बेवास्ता गर्दा दरबन्दी अनुसारको चिकित्सक छैनन । जसका कारण उपचार सेवामा गम्भीर असर परेको छ । सेवाग्राही आफैंले जोखिम उठाउनुपर्ने स्थिति छ ।’

दरबन्दी अनुसार अस्पतालमा नवौं तहको एक जना मेडिकल सुपरीटेन्डेडेण्ट, दुई जना मेडिकल अधिकृत, एक जना एचए, दुई जना अहेब, चार जना स्टाफ नर्स र दुई जना अनमीको स्थायी दरबन्दी खाली छ ।

स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिए पनि खाली दरबन्दीपूर्तिका लागि अहिलेसम्म डाक्टर नपठाएको अस्पतालका सूचना अधिकारी उदयकुमार चौधरी बताउनु भयो ।

चिकित्सक अभावमा अहिले हप्तामा १५ जनासम्म बिरामीहरू रेफर गरिरहुनुपरेको सूचना अधिकारी चौधरीको भनाइ छ ।

जिल्लामा ६६ ओटा स्वास्थ्य चौकी, ११ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र , तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन ओटा सहरी स्वास्थ केन्द्र, सात ओटा सामुदायिक स्वास्थ्य इकाइ र एक ओटा जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अधिकांश स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको छ ।

अन्य

भिडियो