INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्दको दिन विद्यार्थी पढिरहेको बेला कक्षाकोठाको झ्यालमा ढुङ्गा प्रहार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लगायत चार राजनीतिक दलद्वारा भदौ ७ गते आह्वान गरिएको नेपाल बन्दको दिन व्यास नपा–२ दमौलीस्थित सत्यवती माविको कक्षाकोठाको झ्यालमा ढुङ्गा प्रहार गरिएको छ ।

भित्र पढाइ भइरहेको बेलामा झ्यालमा ढुङ्गा हानिएको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले बताउनु भयो ।

ढुङ्गा लागेर झ्यालको सिसा फुटेपनि विद्यार्थी तथा शिक्षकलाई नलागेको प्रअ गुरुङले जानकारी दिनु भयो ।

बन्दको समयमा पनि विद्यालय सञ्चालन गरिएको कारण बन्दकर्ताले विद्यालयमा ढुङ्गा हानेको हुनसक्ने उहाँको आशङ्का छ ।

अभिभावक तथा प्रशासनसँगको छलफलपछि यस अघिका कुनै पनि बन्दमा विद्यालय बन्द नगरिएको कारण यस पटक पनि विद्यालय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताउनु भयो ।

कक्षा कोठामा ढुङ्गा हानिएपछि उक्त दिनको पढाइ पनि अवरुद्ध भएको प्रअ गुरुङले बताउनु भयो । बन्दकर्ताले विद्यालय बन्द गर्न कुनै सूचना भने नदिएको अध्यक्ष काफ्ले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले विद्यालयमा ढुङ्गा हान्नेहरूको खोजी भइरहेको बताउनु भयो । उहाँले बन्दको बेलामा सञ्चालन गरिएका कार्यालय र विद्यालयलाई सुरक्षाको प्रत्याभूति दिलाइने बताउनु भयो ।

बन्दको कारण पृथ्वीराजमार्गमा सार्वजानिक सवारी साधन सन्चालन नभएपनि अन्य सवारीलाई प्रहरीले मुग्लिनदेखि कोत्रेसम्म स्कर्टिङ गरेर सञ्चालन गरेको थियो ।

विप्लवसहित ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको, एमसीसी, महङ्गी तथा विभिन्न सन्धि सम्झौताविरुद्ध नेपाल बन्दको आह्वान गरेका थिए ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार चार दलले गरेको बन्दलाई सफल बनाउन बन्द गराउँदै बसपार्कमा पुगेर टायर बालेर अवरोध सृजना गरेको आरोपमा विप्लव नेतृत्वको नेकपाका कार्यालय सचिव मालिका गाउँपालिका–३ रुम आदिबराका ६४ वर्षीय पदम पुन(फिल्टर) र अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य एवम् नेकपा जिल्ला सदस्य बेनी नगरपालिका–३ भकिम्लिकी ४७ वर्षीया गोमा गर्बुजालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी तीलक भारतीले बताउनु भयो ।

अन्य

भिडियो