INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशमा बन्दको प्रभाव

नेत्रबिक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपा माओवादीलगायत चार राजनीतिक दलले भदौ ७ गते गरेको बन्दको प्रभाव लुम्बिनी प्रदेशका जिल्लाहरूमा परेको छ ।

बन्दको सबै भन्दा बढी प्रभाव बलबालिकाहरूमा परेको छ ।  शिक्षण संस्थाहरू सञ्चालनमा आउन नसक्दा विद्यार्थीहरूको पठन पाठनमा अवरोध भएको छ । यसैगरी सवारी साधन सञ्चालनमा आउन नसक्दा गन्तव्यमा हिडेका व्यक्तिहरूलाई अवरोध भयो भने व्यवसाय, उद्योग, कल कारखाना पनि सञ्चालनमा आउन सकेनन् ।

नेत्रबिक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपा माओवादीले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेर आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसीलगायतको विरोधमा नेपाल बन्दको आवहान गरेको थियो । बन्द गराउदै हिडेका कार्यककर्ताहरूलाई प्रहरीले गिरफ्तार गरे पनि कुनै अप्रिय घटना भने भएन । कपिलवस्तु, बाँके जिल्लामा केही ठाउँमा शङ्काष्पद बस्तु राखेको पाइएको जिल्ला प्रतिनिधिहरू जानकारी दिएका छन् ।

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार बजार र यातायात बन्द गराउदै हिडेका १५ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बजार र गाडी बन्द गराउँदै हिडिरहेको बेला प्रहरीले घोराहीबाट विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका जिल्ला संयोजक एवं घोराही उपमनपा–१५ का २२ वर्षीय खुमन पौडेल, जिल्ला सदस्यहरू २१ वर्षीय हिमाल केसी, २१ वर्षीय टार्जन वली र २३ वर्षीय प्रकाश बुढामगरलाई गिरफ्तार गरेको छ ।

लमहीबाट गिरफ्तार पर्नेहरूमा विप्लव नेतृत्वको नेकपाका लमही नगर इन्चार्ज दाङ शान्तिनगर गाउँपालिका–३ का ३५ वर्षीय जनक बिक, नगर सदस्य लमही नपा–७ का ३३ वर्षीय शोमाराम थापा, नेकपाका समर्थकहरू लमही नपा–३ का २२ वर्षीय लोकबहादुर बिक, २० वर्षीय मनोज बिक, ३३ वर्षीय अजय बुढा, ५० वर्षीय नारायण थापा र ६२ वर्षीय पूर्णबहादुर केसी रहेका छन् ।

यसैगरी, तुलसीपुरबाट विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संघका जिल्ला अध्यक्ष तुलसीपुर–५ का २५ वर्षीय हेमन्तप्रकाश वली, सोही ठाउँका युवासंघ नेपाल दाङका जिल्ला संयोजक ३५ वर्षीय सुदर्शन सेर्पाइली, उपाध्यक्ष २४ वर्षीय दिपेन्द्र वली र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य ४५ वर्षीय सञ्जय वलीलाई रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

कपिलवस्तुमा प्रतिनिधि पार्वती आचार्यका अनुसार बन्दका क्रममो शिवराज नगरपालिका र बुद्धभुमी नगरपालिकाको सिमाना बेलनदी पुल माथी शङ्काष्पद वस्तु फेला परेको छ । बन्दकर्ताहरुले पुलको बिच बाटोमा रातो कपडामा बाँधेर राखेको शङ्काष्पद वस्तु तर्साउनका लागि राखिएको हुक्स भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेसी शाहले जानकारी दिनु भयो । चन्द्रौटा, तौलिहवा , गोरुसिगें, जितपुर चारनम्बर लगायतका शहरी र ग्रामीण बजारहरू बन्द भएका छन् । लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन साञ्चालनमा आउन सकेनन् । यसैगरी, शिक्षण संस्थाहरू बन्द हुँदा विद्यार्थीहरूको पठन पाठन प्रभावित भयो ।

बाँके प्रतिनिधि लक्ष्मी थारूका अनुसार कोहलपुर नेपालगन्ज सडक खण्ड र पुर्वपश्चिम राजमार्गमा अन्तर्गत कोहलपुर नगरपालिका –५ र ९ वडामा  रातो कपडाले बेरेर राखेको शिशाको बोतल फेला परेको छ । उक्त बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताउनु भयो । बन्दका कारण विभिन्न जिल्लाबाट गन्तव्यमा छुटेका सवारी साधन रोकिएका छन् ।

अन्य

भिडियो