INSEC Online

📅 २०८३ जेष्ठ २१

वन कार्यालयको हिरासत भित्र रहस्यमय मृत्यु ः छानबिन समिति गठन

डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतको हिरासतमा रहस्यमय मृत्यु भएका वीरेन्द्रनगर नपा–१३ भूतचोकका ५८ वर्षीय धनिराम लामिछानेको घटनाका विषयमा छानबिन गर्न भदौ ३ गते समिति गठन भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव प्रेम आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भएको छ ।

समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, सुर्खेतका अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालयका अधिकृत, जिल्ला प्रहरी कार्यालय, सुर्खेतका इन्स्पेक्टर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत रहनु भएको छ ।

समितिलाई सात दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीले जानकारी दिनु भएको छ ।

लामिछानेलाई सालको रुख काटेको आरोपमा वन कार्यालय, सुर्खेतका कर्मचारीले भदौ २ गते गिरफ्तार गरेका थिए ।

तर, हिरासतमा भदौ २ गते लामिछाने झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित बनेका आफन्तहरूले भदौ २ गते साँझदेखि कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन ।

उनको मृत्युपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै कारबाही मागगर्दै पीडित पक्षले सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षक पीयूषराज तिवारी र सुरेन्द्र रानाविरुद्ध भदौ ३ गते किटानी जाहेरी दिएका छन ।
किटानी जाहेरी दिइएका सहायक वन अधिकृतवाहेक अन्य तीन जना प्रहरी सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

PhotoSurkhet20220822

अन्य

भिडियो