INSEC Online

📅 २०८३ जेष्ठ २१

चिकित्सक कुटपिट घटनामा संलग्न कर्मचारी निलम्बित, छानबिन समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक विभागमा कार्यरत चिकित्सक करण साहमाथि कुटपिट भएको घटनामा संलग्न कर्मचारी धनबहादुर शाही निलम्बनमा परेका छन् ।

प्रतिष्ठानको भदौ ४ गते बसेको कार्यकारी परिषद्को बैठकले शाहीलाई निलम्बन गरेको हो । उहाँलाई ४५ दिनको लागि निलम्बित गरिएको हो ।

कार्यकारी परिषद्को बैठकले अस्पतालका निर्देशक डा. पुजन रोकायाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको रजिष्टार नृपेन्द्र महतले बताउनु भयो । उहाँले भन्नुभयो समितिमा डा. पुजन रोकाया, डा. अनुपमंगल समाल र प्रतिष्ठानका कानुनी सल्लाहकार मीनबहादुर महत रहेका छन् । समितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ ।

चिकित्सक कुट्ने कर्मचारी शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन तर्फको चौथो तहको कर्मचारी हुन् ।

शाहीले भदौ २ गते आकस्मिक विभागमा आफ्नो छोराको टाका निकाल्न डाक्टर साहसँग आग्रह गरेका थिए । उक्त विषयमा भएको विवादका कारण शाहीले चिकित्सक साहलाई आक्रमण गरेका थिए । शाहीले चिकित्सकलाई हातले र खुट्टाले कुटेको आरोप छ ।

शाहीले डाक्टरलाई हानेको सीसीटिभीको फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । डा. साह माथिको आक्रमण प्रति विरोध जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले कडा सुरक्षाको मागगर्दै आन्दोलन थालेका छन् ।

उनीहरूले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । यसैगरी भदौ ५ गते आईसियु, इमरजेन्सी र एनआईसियु सेवा बाहेक सबै सेवा बन्द गरेका थिए भने अरु दिन सुरक्षाको अनुभूति र घटनामा संलग्न व्यक्तिलाई कारबाही नहुँदासम्म पेन डाउन कार्यक्रम गर्ने जनाएका छन् ।

चिकित्सकहरूको दबाब पछि कार्यकारी परिषद्को बैठक बसेर तत्काल छानबिन समिति गठन गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको रजिष्टार महतले बताउनु भयो ।

छानबिन समितिको प्रतिवेदनको मर्म अनुसार थप कारबाही अघि बढ्ने उहाँले बताउनु भयो । उहाँले अस्पतालका कर्मचारीले चिकित्सक माथि गरेको आक्रमणको घटनाले प्रतिष्ठानलाई थप गम्भीर बनाएको जानकारी दिनुभयो । कुट्ने कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा भदौ २ गते उजुरी परेपछि घटनाका आरोपितलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । शाहीको कुटपिटबाट डा. साहको टाउको र पेटमा चोट लागेको छ ।

भदौ २ गते बिहान ९ बजे प्रतिष्ठान प्रशासनतर्फका चौथो तहका कर्मचारीसमेत रहेका शाही छोराको टाका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेका थिए । तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेतिर टाका काटिदिने प्रतिक्रिया दिए । शाहीको छोराको टाका काट्ने विषयमै उनीहरूबीच विवाद हुँदा शाहीले हातपात गरेको नेपाल चिकित्सक सङ्घ जुम्ला शाखाका उपाध्यक्ष डा. कमल थानीले जानकारी दिनुभयो ।

‘बिहानपख इमरजेन्सी वार्डमा बिरामीको भिडभाड नै थियो । चिकित्सकले बच्चाको घाउ पाकीसकेको छैन । हतार नगर्नुस् । अहिले म बिरामीसँग छु । ११ बजेतिर भेटेर हेरौंला भन्नुभएको सुनियो,’ उपाध्यक्ष डा. थानीले भन्नुभयोे, ‘शाही त मेरो काम नगरेको भन्दै डाक्टर माथि हातपातमा उत्रिएछन् । यो राम्रो काम कदापी होइन् । यो कार्यले सिंगो प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मी नै कर्मचारीबाट असुरक्षित हुनुपर्ने अवस्था आयो ।’

डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरी उपर प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन तथा प्रवक्ता डा. रमेश भट्टराईले कर्मचारीले चिकित्सकलाई कुटेको बताउनु भयो । उहाँले भन्नुभयो, कर्मचारीले चिकित्सकमाथि हात हाल्न नहुने हो । हात हालिसकेपछि समस्या भयो ।’ डा. साह डिउटीमा भएको बेला हातपात गर्ने होइन ।अलिअलि धकेलाधकेल भए पनि समाधान गर्न सकिन्थ्यो होला । उहाँले थप्नुभयोे, ‘सीसीटीभी फुटेजमा स्पष्टरुपमा चिकित्सकमाथि हातपात भएको देखिन्छ ।’ पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज नै प्रहरी र प्रशासन कार्यालयमा पेस गरेका छन् । चिकित्सकले काम गर्न सक्दैनौं, इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

घटनाका आरोपित कर्मचारी शाहीले चिकित्सक कुटिएको विषय सत्य नभएको प्रतिक्रिया दिनु भएको छ । ‘मेरो बच्चाको पेट दुखेर छटपटिएको थियो । सँगै टाका काट्नुपर्ने पनि थियो । तर त्यसका लागि एक घण्टा कुर्दा पनि उपचार नभएपछि केही प्रशासनिक कर्मचारीको सहयोगमा पुनः उपचारको लागि अनुरोध गरे तापनि बारम्बार बाहिर पठारहनुभयो । यदि इमर्जेन्सीमा भिड भएको भए पनि म गल्ती हुन्थे । सीसी क्यामरा हेर्नुस् इमर्जेन्सीमा त्यो समयमा एक जना पनि बिरामी थिएन । तापनि उहाँले निकै नै आडम्बर देखाएपछि सामान्य धकेलाधकेल भएको हो । सायद जोकोही पनि यस्तै गर्थे किनकी ६ वर्षको बच्चा छट्पटिरहँदा कति मन दुख्छ ।’

अन्य

भिडियो