INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १ गते) 

भदौ १ गते ५ सय ३१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९४ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८ सय ७६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७६ हजार ९ सय ३७ जना निको भएका छन् । भदौ १ गते ३ सय २८ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ६२ रहेको छ ।

भदौ १ गतेसम्म ११ हजार ९ सय ९० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ १ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ १ गते २ हजार ५ सय ७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय २१ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४८ हजार १ सय ४३ जनालाई कोभिड पुष्टि भएको छ । भदौ १ गतेसम्म २ करोड ११ लाख ३८ हजार ७ सय ५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङको सदरमुकाममा रहेको जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि भदौ ५ गतेसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

घरपझोङ गाउँपालिका–४ जोमसोममा रहेको उक्त विद्यालयका विद्यार्थीमा कोभिड–१९ पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका ५१ जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा १३ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लागि विद्यालय बन्द गरिएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताउनु भयो ।

विद्यालयको छात्राबासमा बस्ने विद्यार्थीमा रुघाखोकी तथा ज्वरो आएर बिरामी हुन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेदेखि प्रारम्भिक चरणमा तीन दिन विद्यालय बन्द गरिएको आचार्यले बताउनु भयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कोभिड–१९ विरुद्ध उच्च सतर्कता अपनाइएको बताउनु भयो ।

स्वास्थ्य कार्यालय मुस्ताङका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीका अनुसार थासाङ गाउँपालिकामा ६ जना, घरपझोङ गाउँपालिकामा २७, र मुस्ताङ अस्पतालमा १० जना गरी कुल ४३ जना सक्रिय सङ्क्रमित रहेको नेपालीले बताउनु भयो ।

अन्य

भिडियो