INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोको जोखिममा रहेको दलित बस्तीका बासिन्दा आफन्तको घरमा बास खोज्दै

पहिरोको जोखिममा रहेको दलित बस्तीका बासिन्दा आफन्तको घरमा बास मागेर बसन बाध्य भएका छन् ।

सुनछहरी गाउँपालिका– ३ झारवाङका २६ घर दलित बस्ती पहिरोको जोखिममा परेकका कारण स्थानीयलाई सुरक्षित बासको समस्या भएको छ ।

उक्त बस्तीमा ०७९ असार मसान्तको समयमा स्काभेटरले बाटो निर्माण गरेको थियो । वर्षायामको समयमा स्काभेटरले बाटो खन्दा जमिन कमजोर बनेका कारण बस्ती नै पहिरोको जोखिममा परेको र आफूहरूलाई सास्ती भएको स्थानीय २३ वर्षीय दिपक बिकले बताउनु भयो ।

०७९ साउन २१ गते परेको अविरल वर्षाका कारण बस्तीका २६ घर पहिरोको जोखिममा परेका छन् । जस मध्ये ६ घर पहिरोको उच्च जोखिममा रहेको बिकले बताउनु भयो । बिकका अनुसार जोखिम क्षेत्रका स्थानीयहरू आफन्तको घरमा शरण मागेर  बसिरहेका छन् ।

वर्षायाममा डोजरले बाटो निर्माण गर्दा  जमिन सबै हल्लिएको तथा  ०७९ साउन २१ गते परेको अविरल वर्षाका कारण बस्तीमा पानीको मूल समेत फुटेको छ । सडकको तलमाथिबाटै पहिरोले कटान गरेको छ भने चार वटा घरको तलर माथिबाट पहिरो खसेको स्थानीय २३ वर्षीय मत कामीले बताउनु भयो ।

अझै बर्खायामको समय बाँकी भएकाले जुनसुकै समयमा पनि पहिरोले त्यहाँको बस्ती बगाउन सक्ने  मत कामीले बताउनु भयो ।

विस्थापित परिवारहरूको दिउसोको समय खेतबारीमा काम गर्दै बिते पनि साँझको समयमा आफन्तको घरमा गएर बस्नु पर्ने बाध्यता रहेको कामीले बताउनु भयो ।

स्थानीय सरकारले असार महिनामा बस्तीमा डोजर लगाएका कारण बस्ती नै पहिरोको उच्च जोखिममा परेको त्यहाँका स्थानीयले आरोप लगाएका छन् । जसका कारण आफूहरू बिस्थापित हुनपरेको उनीहरूको गुनासो रहेको छ ।

सुनछहरी गाउँपालिका– ३ का वडा अध्यक्ष उदविर घर्ती मगरले बर्षाका कारण सुनछहरी गाउँपालिका– ३  बाहिरी गामाको झारवाङस्थित दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको तर तत्काल समस्या समाधानको लागि योजना नबनेको बताउनु भयो ।

पहिरोको जोखिममा रहेको बस्तीलाई भने स्थानान्त्रण गरिएको अध्यक्ष घर्तीले बताउनु भयो  ।

अन्य

भिडियो