INSEC Online

📅 २०८३ जेष्ठ २१

पतिबाट जलाइएकी महिलाको उपचारको क्रममा मृत्यु, पति गिरफ्तार

आगोले पोलेर घाइते भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला सदाको उपचारका क्रममा कीर्तिपुरस्थित बर्निङ अस्पतालमा साउन २९ गते राति मृत्यु भएको छ ।

सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय पति शङ्कर सदाले शरीरमा मट्टीतेल छर्केर आगो लगाएपछि घाइते बनाएको आरोप छ ।

भङ्गहा नगरपालिका–९ कञ्चनवनस्थित माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई आरोपितले साउन २१ गते राति मट्टीतेल खन्याएर आगो लगाएको आरोप छ ।

धनुषाको महेन्द्रनगरस्थित एक पसलबाट ४० रुपियाँमा मट्टीतले किनेर पत्नी प्रमिला सदाको शरीरमा खन्याएर आगो लगाएपछि पीडितको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको थियो ।

प्रमिलासँगै सुतेकी ६५ वर्षीया आमा रेशमा देवी सदाको शरीरको १० प्रतिशत भाग जलेको छ । घाइते दुवै जनाको उपचार काठमाडौँको कीर्तिपुर अस्पतालमा भइरहेको थियो ।

उपचारको क्रममा साउन २९ गते राति प्रमिला सदाको मृत्यु भएको भतिज ललित सदाले जानकारी दिनु भयो ।

आरोपित शङ्कर सदालाई नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित सम्सी–कन्हवा स्थित नेपाल क्षेत्रबाटै साउन २५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले बताउनु भयो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अन्य

भिडियो