नेपाली काङ्ग्रेसबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ ।
शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कर्पियो गाडीमा अज्ञात समूहले वैशाख २२ गते राति तोडफोड तथा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पञ्चकन्या गाउँपालिका-५ शिवालयमा रोकिराखिएको अवस्थामा राति अज्ञात समूहले गाडीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जितेन्द्र बस्नेतले बताए । तोडफोड र आगजनीबाट गाडीको इञ्जिन, सिट, झयाललगायतका भागमा पूर्ण क्षति पुगेको छ ।
त्यसैगरी वैशाख २२ गते शिवपुरी गाउँपालिका-७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार राजाराम गुणीको प्रचार अभियानमा काङ्ग्रेस कार्यकर्तासँग झडप भएको थियो । झडपमा घाइते भएका एमालेका कार्यकर्ता चन्द्रबहादुर तामाङको काठमाडौँमा उपचार भइरहेको नेकपा एमाले जनाएको छ ।