जुम्लामा अनुदानको चामल अभाव भएको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ढुवानी समयमा नभएपछि जुम्लामा अनुदानको चामल अभाव भएको हो ।
अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्लास्थित गोदाममा ३ सय २५ क्विन्टल चामल मात्र मौज्दात छ । त्यो पनि आपतकालीन अवस्थाका लागि जगेडा राखिएपछि स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् ।
खाद्य डिपोमा चामल नपाएपछि व्यापारीसँग २५ किलोको १ बोरा चामल २ हजार २ सय रुपियाँ तिरेर लैजानुपरेको तिला गाउँपालिका–७ का हर्कसिंह बुढाले गुनासो गर्नुभयो । ‘पुरानो अन्न सकियो, नयाँ अन्न पाकेकै छैन,’ उहाँले भन्नुभयोे, ‘जुन महिना खाद्यान्न अभाव हुन्छ, त्यही समयमा खाद्यको चामल आउँदैन ।’
अहिले जुम्लामा ३ सय २५ क्विन्टल मात्र मध्यम चामल छ । त्यो कारागारका कैदी बन्दीको लागि राखिएको हो । त्यस्तै, १ सय क्विन्टल बासमती चामल मौज्दात भए पनि आपतकालीन अवस्थाका लागि राखिएको छ । खाद्यमा २० किलो बासमती चामलको मूल्य २ हजार ३ सय रुपियाँ पर्छ । लिमिटेडका शाखा प्रमुख निर्मल विष्टका अनुसार कारागारका लागि चाहिने मध्यम चामल र बासमती चामलबाहेक सबै प्रकारको चामल सकिएको छ ।
कम्पनीको शाखामा अरुवा मोटो, मकवानपुर, मध्यम, सोना, स्टिम जिरा र बासमती चामल आउने गरेको छ । खाद्यले अरुवा मोटो चामल ४६, मकवानपुर ४७, मध्यम ५० र सोना ५१ रुपियाँ प्रतिकिलो बिक्री गर्ने गरेको छ ।
जुम्लाका लागि ६ हजार क्विन्टल वार्षिक कोटा तोकिएको छ । जसमध्ये एक हजार तीन सय क्विन्टल डोल्पाका डिपोहरूमा पठाइन्छ । बचेको ४ हजार ७ सय क्विन्टल चामलले ७ देखि ८ महिना धान्छ । ‘चामल अपुग हुँदा हरेक फागुन महिनामा थप कोटा माग गरिरहेका हुन्छौं,’ उहाँले भन्नुभयो, ‘यो पटक दुई हजार पाँच सय क्विन्टल चामलको कोटा थप भएको थियो ।’ पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि ठेकेदारले चामल ढुवानी गर्न ढिलाई गरेको छ ।
अहिले दैनिक ४० देखि ५० जनासम्म सेवाग्राही चामल किन्न आउने गरेका छन् । ‘चामल नभएपछि सेवाग्राहीलाई रित्तो हात फर्काउन बाध्य छौं,’ प्रमुख विष्टले भन्नुभयो, ‘थपिएको २ हजार ५ सय क्विन्टल चामल आएको भए दशैँसम्म राम्रैसँग बेच्न मिल्थ्यो ।’ कम्पनीका अनुसार यो वर्ष चामल ढुवानीको जिम्मेवारी खड्का निर्माण सेवाले लिएको थियो । छिटोमा ०७९ भदौ १५ सम्म र ढिलोमा असोजको पहिलो हप्तासम्म चामल आइपुग्ने उहाँले जानकारी दिनुभयो । जुम्लाको सिजां गाउँपालिका–१ धापा र तिला गाउँपालिका–८ जुम्लाकोट डिपो पनि ६ महिनादेखि खाली छन् ।
