INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला उम्मेदवार स्थानीय तहको मुटु: प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २३ गते म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका बाबियाचौर र सदरमुकाम बेनीमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Photo20170507Myagdi3

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम मङ्गला गाउँपालिका बाबियाचौरमा भएको कार्यक्रममा उपस्थित स्थानीय दलित, महिला तथा स्थानीयले निर्वाचनमा आफहरू सहभागिताको लागि उत्सुक रहेको बताएका थिए ।

स्थानीय तहका उम्मेदवारहरूले निर्वाचनमा स्थानीय बासिन्दाको मतको मात्र नभइ मनको समेत प्रतिनिधित्व गर्ने उम्मेदवारलाई मत दिएर जिताउन मतदातालाई आग्रह गरेका थिए ।

Photo20170507Myagdi2

सदरमुकाम बेनी बजारमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिका-८ का लागि नेकपा एमालेका उम्मेदवार रामकृष्ण बराइली, वडा नं ७ का अध्यक्षका लागि नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार श्रेष्ठ र माओवादी केन्द्रका सदस्य पदका उम्मेदवार पदम पुनले आफुहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने कुनै क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाएका थिए ।

उम्मेदवारहरूले भने-‘आफूले जिते पाँच वर्षका लागि चुनिने हो । तर हारे पनि जिते पनि सोही स्थानको बासिन्दा भएर वर्षौँ बस्नु नै आफूहरूको मुख्य चाहना भएकाले निर्वाचनलाई कुनै पनि हालतमा स्वच्छ र धाँधलीरहित बनाउन प्रतिबद्ध छौँ ।’

Photo20170507Myagdi1

कार्यक्रममा बोल्दै नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले नागरिकलाई मतदान गर्नका लागि वातावरण तयार हुनपर्ने र त्यसका लागि दलहरूकै भूमिका मुख्य रहने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्ने काम राजनीतिक दल र उम्मेदवार दुवैको भएका कारण आचारसंहितालाई आफ्नो कर्तव्यका रूपमा लिनुपर्ने बताए ।

अध्यक्ष प्याकुरेलले स्थानीय तहको उपाध्यक्षमा महिलाहरूनै उम्मेदवार बनाइएको तर्फइङ्गित गर्दै महिलाहरू स्थानीय तहको मुटु भएको बताए । स्थानीय तहमा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन हुने भएकाले स्थानीय तहमै न्याय दिलाउने जिम्मेवारी अब महिलाको काँधमा आइसकेकोले महिलाहरूको क्षमता र सहभागिता अझ बढ्ने बताए । अध्यक्ष प्याकुरेलले महिलाले कहिल्यै पनि गलत निर्णय नगर्ने बताउँदै अब झन् जनताको पक्षमा सही निर्णय गर्ने जिम्मेवारी आधिकारिक रूपमै आएको बताएका थिए ।

कार्यक्रममा नेपाल मानव अधिकार सङगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, निर्वाचनका लागि युवा साझा अभियानका लोकराज अवस्थी, सामुदायिक रेडियो प्रसारक सङ्घ प्रदेश नम्बर ४ का संयोजक शान्ति गुरुङलगायतले मन्तव्य राखेका थिए ।

अन्य

भिडियो