जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव र उनका दाजु ४६ वर्षीय धिरबहादुर यादवलाई साउन २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरूले साउन २० गते बोलाएर धिरबहादुरको घरमा बन्धक बनाई कुटपिट गरेको भन्दै पीडित पक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
पीडितलाई आरोपितले आफ्नो छोरीसँग प्रेम सम्बन्धमा रहेको आरोप लगाएर शिक्षक पाटेश्वरले योजनावद्धरुपले छोरीलाई बोलाउन लगाएर बन्धक बनाइ चिरपट, इँटाले कुटपिट गरेको पीडितले बताउनु भयो । घरमा चोरी गर्न आएको, घरधनीले थाहा पाएर सामान्य कुटपिट गरेको, प्रहरीमा उजुरी गर्ने छैन भन्ने कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको पीडितले बताउनु भयो ।
कुटपिटबाट टाउको, मुख, कान, हात, खुट्टा र ढाडमा चोट लागेर गम्भीर घाइते भएका पीडितको नेपालगञ्जस्थित वेष्टर्न हस्पीटलमा उपचार भइरहेको प्रहरीले पीडित पक्षले बताए ।
चोरी गरेकाले सामान्य कुटपिट गरी बाँधेर राखेको भन्दै शिक्षक यादवले राजपुर–३ का वडाध्यक्ष रामप्रसाद यादवलाई खबर गरेपछि प्रहरीले पीडितको उद्धार गरेको थियो ।
घटनामा सङ्लग्न राजपुर गाउँपालिका–२ का २२ वर्षीय रामकिसुन यादव, २३ वर्षीय सुरज यादव र २३ वर्षीय रामप्रसाद यादव फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश काफ्लेले जानकारी दिनु भयो ।