कर्णाली राजमार्ग अन्र्तगत नाग्म गमगढी सडक खण्डको सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका–८ रोकायावाडासम्मको सडक खण्डमा काम गरेका तीन सय जना मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् ।
सिजा गाउँपालिका १ की मुलकली कामीले श्रम गरेको गरेको ज्याला नपाएको गुनासो गर्नु भएको छ । उहाँले भन्नुभयो दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाएका हुन् । अहिले काम गरेको दुई बर्ष भयो त्यही पनि दिएका छैनन् ।
घर नजिकै आएको विकास निर्माणमा ज्याला मजदुरी गरौँ र केही आएको पैसाले लुगाफाटो र नुनतेल गरौँला भन्ने सोचले काम गरेका हाँैँ । त्यही पनि पाएनौँ ।
यस्तै कनकासुन्दरी गाउँपालिका–८ की इमिला शाहीले पनि लुगाफाटो र नुनतेल गरौला भन्ने आशाले सडकमा ढुङ्गा फुटाउने, बोक्ने र माटो बालुवा बोक्ने काम गरेको बताउनु भयो । तर काम गरेको ज्याला नपाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो नखाई नलगाई २० दिन काम गरियो तर ज्यालाको नाममा सुक्को पाइएको छैन । ठेकेदारको बेमाइनीका कारण ज्याला नपाएको उहाँले गुनासो गर्नुभयो ।
मुनकली र इमिला जस्तै यो सडकमा काम गर्ने तीन सय सडक मजदुर ठगिएका छन् । काम सम्पन्न भएको दुई बर्ष भयो अहिलेसम्म ज्याला नपाएका उनीहरूले गुनासो गरेका छन् ।
यो सडकमा काम गर्दा दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्री बिक्रीवितरण गर्ने झण्डै एक सय बढी व्यापारीले पनि पैसा नपाएको गुनासो गरेका छन् । ठेकेदारले पछि भुक्तानी दिने भनेर लिएका निर्माण सामग्रीको भुक्तानी नपाएको बताएका छन् । निर्माण सामग्रीको लाखौँ रकम भुक्तानी पाएका छैनन् ।
यो ठेक्काका विषयमा सुरुको काम गर्ने चरणमा काङ्ग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीसँग सडक निर्माण कार्य सम्पन्नपछि बचेको रकम ६५ प्रतिशत र ३५ प्रतिशत आम्दानी लिने मौखिक सहमति भएको पूर्व वडाध्यक्ष रणबहादुर रोकायाले बताउनु भयो । उहाँले भन्नुभयो अहिले पनि त्यो टेलिफोन रेर्कड सुरक्षित नै छ । मौखिक सहमतिपछि भाई दत्त रोकायालाई काम गर्न लगाएको हो । पछि फेरी भाई दत्त रोकायसँग सम्झौता भएको रहेछ । अहिले १ करोड ५१ लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको छ ।
उक्त सडक निर्माणका पेटी ठेकेदार दत्त रोकायाका अनुसार ठेकेदारले भुक्तानी नदिएका कारण मजदुरको ज्यालादेखि निर्माण सामग्रीको भुक्तानी दिन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो काङ्ग्रेसको जिल्ला सभापतिसमेत रहेका ठेकेदार कर्णबहादुर शाही र उहाँका भाई दिपक शाहीले भुक्तानी नदिएर ठगिरहेका छन् । यो विषयमा जिल्ला अदालत जुम्लामा मुद्दासमेत दायर गरेको छ । १ करोड ५१ लाख भुक्तानी लिन बाँकी रहेको छ । ठगी धन्दा गर्न खोजिएको छ । यस विरुद्ध अदालतमा मुद्दा जाहेरी गएकाले न्याय प्राप्त हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।
मजदुरलाई ज्याला नदिएको ठेकेदार दिपक शाहीले स्वीकार्नु भयो । यो ठेक्काका विषयमा मुद्दा परेकोले अदालतले स्टेअर्डर गर्दा सडक डिभिजन कार्यालयबाट भुक्तानी लिन सकिएको छैन । सडकको निर्माण जिम्मेवारी लिएका ठेकेदार शाहीले भन्नुभयो यो ठेक्कामा कर्णबहादुर शाहीको कुनै संलग्नता छैन । सडक डिभिजन कार्यालयमा मेरो नाममा सम्झौता भएको छ । ६ करोड ७८ लाख रुपियाँको ठेक्का सम्झौता हो । ३ करोड ७० लाख बजेटमा पेटी ठेकेदार दत्त रोकायासँग सम्झौता भएको हो । सम्झौता रकम मध्ये २ करोड ९० लाख ७७ हजार भुक्तानी दिएका छन् । पेटी ठेकेदार रोकायालाई भुक्तानी दिन बाँकी नरहेको उहाँले बताउनु भयो । पेटी ठेकेदार रोकायाले काम बीचैमा छोडेका हुन् । काम गरेको सबै रकम भुक्तानी दिइसकेका छौँ । काङ्गे्रेसका सभापति शाहीसँग फोन सम्र्पक गर्दा फोन उठाएनन् ।
उक्त ठेक्कासँग जोडिएका सभापति शाहीले पटक पटक ताकेता गर्दापनि काम नगर्दा तीन पटक ठेक्का रद्द गरिएको बताउनु भयो । रद्द गरिएको ठेक्काको पत्र बुझ्न नमानेपछि हुलाकबाट समेत पठाएका छौँ । हाम्रो कसैसँग रकम लिनु पनि छैन दिनु पनि छैन । हेपाहा प्रवृत्तिले घटना बनाउन खोजिएको हो । उहाँले भन्नुभयोे यो ठेक्का विषयमा अहिले मुद्दा लडिरहेका छौँ । न्यायलयले न्याय दिने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालय, जुम्लाका निमित्त प्रमुख वीरेन्द्र रावलका अनुसार १३ नम्बरको उक्त ठेक्का खड्का कृष्ण कन्ट्क्सन बाँकेका प्रतिनिधि दिपक शाहीसँग ०७७ सालमा सम्झौता भएको हो । उहाँले भन्नुभयो सडक स्तरोन्नतिको म्याद थपसहित ०७८ कात्तिक २३ गते सम्पन्न मिति हो । त्यो सडक निर्माण कार्य सम्पन्न भई ५ करोड ७९ लाख रुपियाँ भुक्तानी भइसकेको छ । अदालतमा मुद्दा चलिरहेकाले ८६ लाख रुपियाँ भुक्तानी बाँकी रहेको छ । ६ करोड ७८ लाख ठेक्का सम्झौता हो ।
मजदुरी देखि व्यापारीले पैसा नपाएको हामीसँग पनि गुनासो आउने गरेको छ । हाम्रो कार्यालय ठेकेदारबाहेक अरू मजदुर र व्यापारीसँग सम्बन्ध जोडिएको हुँदैन । यो विषयमा मुद्दा पनि परेकोले अदालतले सडक डिभिजनसँग राय पनि मागेको थियो । दुई पटक राय बुझाएको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ ।
