ढोरपाटन नगरपालिका–९ सुपुर्दुका विशाल घर्ती १७ वर्ष भएको बताउनु हुन्छ । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर बिकको उजुरीले ०७८ कात्तिक ५ गते गिरफ्ताीमा पर्नु भएका घर्ती तत्कालीन समयमा १६ वर्षको मात्रै भएको बताउनुहुन्छ ।
बिकको पसलबाट कात्तिक ४ गते ४ लाख रुपियाँ चोरी गरेको आरोपमा घर्तीविरूद्ध बिकले सोही दिन उजुरी गर्नु भएको हो ।
कानुन अनुसार घर्ती बालबालिका समूहमा पर्नु हुन्छ । तर, अदालतले उहाँको मुद्दामा उमेर ३६ वर्ष बनाएर पुर्पक्षका लागि जिल्ला कारागार बागलुङ पठाएको छ ।
गत कात्तिक ११ गते जिल्ला अदालत बागलुङको आदेशले घर्ती कारागारमा थुनामा रहनुभएको छ ।
उहाँ पछिल्लो १० महिनादेखि थुनामा रहेपनि अदालतमा मुद्दा सुनुवाइको सूचीमा अझै परेको छैन ।
घर्तीलाई थुनामा राख्न दिएको आदेशसँगै अदालतले उहाँ अध्ययन गरेको सरस्वती आधारभूत विद्यालय र ढोरपाटन नगरपालिका–९ को कार्यालयमा जन्मदर्ता उपलब्ध गराइदिन भन्दै पत्राचार गरेको थियो । हालसम्म उक्त पत्रको जबाफ नआएको भन्दै उहाँको मुद्दाको सुनुवाइ हुन नसेको हो ।
चोरी ठहर भएपनि बाल सुधार गृह पठाइनुपर्ने बालकलाई अदालतबाट उमेर फरक पारेर ३६ वर्षको बनाएर कारागार पठाइएको पाइएको छ ।
अदालतले कारागारमा पठाएको पुर्जीमा घर्तीको उमेर ३६ वर्ष लेखिएको छ । अदालतको फाइलमा राखिएको सोही पत्रको प्रतिलिपिमा भने ३६ वर्ष काटेर १८ वर्ष बनाइएको छ । काटेको स्थानमा कसैको हस्ताक्षर समेत छैन ।
‘यो कागज मैले नै लेखेको हो । काटेको पनि मैले हो । त्यसैले हस्ताक्षर गरिनँ ।’–तहसिलदार जगतबहादुर भण्डारीले भन्नु भयो–‘जन्मदर्ताको कागजात नभेटेकोले उनको मुद्दा पेशी चढ्न नसकेको हो ।’
इन्सेक प्रतिनिधिले जिज्ञासा राखेपछि तहसिलदार भण्डारीले एकपटक विद्यालय र वडामा पुनः ताकेता गर्ने बताउनु भयो ।
घर केही वर्ष अघि आगलागि हुँदा काजगात जलेका कारण जन्मदर्ता देखाउन नसकेको घर्ती बताउनु हुन्छ ।
घर्तीले पढेको सरस्वती आधारभूत विद्यालय तीन वर्ष अघिको भुजीखोला पहिरोले बगाएको थियो । पहिरोसँगै आएको बाढीले बगाएका कारण उक्त विद्यालयमा उहाँको जन्मदर्ताको कागजातसहित धेरैको महत्वपूर्ण कागजात छैन ।
घर्तीका बुबा बेगबहादुर र आमा उजेलीले पनि छोरालाई प्रहरीले गिरफ्तार गरेर लैजाँदा १६ वर्षको भएको बताउनु हुन्छ । विशाल पछि जन्मेका उहाँका भाइ हुनुहुन्छ । उहाँ ११ वर्ष पुगेको आमा उजेली बताउनु हुन्छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङको फाइलमा घर्तीको उमेर १८ वर्ष उल्लेख गरिएको छ । ‘हामीले अदालत पेश गरेको सम्पूर्ण फाइलमा घर्तीको उमेर १८ लेखिएको छ ।’–जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर भुपेन्द्र गिरी भन्नु हुन्छ–‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि १३ देखि १९ वर्ष बिचमा हुनुपर्ने प्रमाणित भएको छ । अदालतमा उनको उमेर कसरी ३६ वर्ष हुन पुग्यो हामीलाई पनि जानकारी छैन ।’
तत्कालिन वैतनिक कानुन व्यवसायी हरिप्रसाद गौतमले पनि बालक भएकोले सुधार गृह पठाउन बहस गरेको बताउनु हुन्छ । तर, कागजमा भएको उमेरका कारण उहाँ जेल पुगेको गौतमको भनाइ छ ।
घर्तीको स्वास्थ्य परीक्षण गर्दा धौलागिरी अस्पतालले दिएको रिपोर्टमा उहाँको उमेर १३ देखि १९ वर्षको भनेर लेखिएको छ ।
कारागारका प्रमुख डिलबहादुर केसीले पनि घर्तीको बानी व्यवहारले बालक नै भएको बताउनु भयो ।
‘हामीलाई ३६ वर्षको भनेर लेखेर पठाएको छ । तर, उसको बानी बालककै जस्तो छ । हेर्दापनि पाको देखिँदैन ।’–केसीले भन्नु भयो–‘हामीले बहस गर्न मिलेन । कागजमा जे लेख्यो, त्यही भन्ने हो ।’
वडा नं. ९ का सचिव थमप्रसाद घर्तीले पत्र आएको बारे थाहा नपाएको बताउनुभयो ।
‘पत्रकारले सोधेर थाहा पाएँ । अब खोजी गरेर पठाउनु पर्ला ।’–उहाँले भन्नु भयो–‘रेकर्ड हेरेर एकिन उमेर पठाउँछु । तर, उनी बढीमा १८ वर्षको हुन सक्छन् ।’
काठमाडौँमा उपचारका लागि गएकाले फर्केपछि मात्रै जानकारी हुने उहाँले बताउनु भयो ।
अधिकारकर्मी राम शर्माले यस्ता बिषयमा सरकारी वकिल देखि वैतनिक वलिक सचेत र संयम बन्नु पर्ने बताउनु भयो ।
कोभिडको महामारी लगायतका कारणले लामो समयसम्म पेशी नआउने समस्या भने रहेको उहाँले बताउनु भयो ।