INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयको भवन भत्किँदा चार बालबालिका घाइते, पठनपाठन प्रभावित

जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा–३ हुरीमहरीमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन भत्किँदा चार जना विद्यार्थी घाइते हुनुका साथै पठनपाठन प्रभावित भएको छ ।

कक्षा सञ्चालन भइरहेको समयमा साउन २२ गते विद्यालय भवन भत्किएपछि विद्यार्थी घाइते भएका हुन् । शिक्षक डिल्ली बुढाका अनुसार घाइते हुनेमा कक्षा ३ र ४ का विद्यार्थी रहेका छन् । घाइते मध्ये ११ वर्षीया मुनकली बुढा र १० वर्षीया सुस्तिका बुढालाई बढी चोट लागेको थियो । भवन निकै पुरानो र जीर्ण भएको थियो । विद्यालयको तीन कोठे भवन भत्किएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । दुबै बालिकाको खुट्टामा चोट लागेको छ ।

पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालका अनुसार गाउँपालिकाको शिक्षा शाखा, प्रहरी र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले साउन २३ गते घटनास्थलको अनुगमन गरेको छ । उहाँले भन्नुभयो भत्किएको भवनको पुर्ननिर्माणका लागि बजेटको व्यवस्थापन गर्नेछौँ ।

तत्काल पठनपाठनका लागि दुई कक्षाका विद्यार्थी एउटै कक्षा कोठामा राखेर बहुकक्षा शिक्षण विधिमार्फत पठनपाठन गर्ने व्यवस्थापन गरिएको उहाँले बताउनु भयो । उक्त भवन कच्ची रहेको थियो ।

अन्य

भिडियो