विगत तीन महिनादेखि खाद्य संस्थानले चामल वितरण नगरेपछि हुम्लामा खाद्यान्न सङ्कट भएको छ । जिल्लामा खाद्यान्न सङ्कट भएपछि स्थानीयबासीले २५ किलो चामलको ५ हजार ६ सय रुपियाँमा किन्न बाध्य भएको अदानचुली गाउँपालिकाका स्थानीयबासी मानबहादुर थापाले गुनासो गरे ।
खाद्यसंस्थान शाखा कार्यालयमा २५ किलो चामलको १ हजार ३ सय ८० रुपियाँमा किन्ने गरेकोमा खाद्यान्नको अभाव भएपछि महङ्गोमा किन्नु परेको स्थानीयबासी थापाले गुनासो गरेका हुन् ।
सदरमुकामस्थित खाद्य शाखा कार्यालय सिमकोट, श्रीनगर खाद्य डिपो कार्यालय र सर्केगाड डिपो खाद्य कार्यालयमा ०७३ माघ ८ गतेदेखि कर्मचारी रासनकार्ड कोटा प्रति व्यक्ति १५ किलो, वडा भाग प्रति एक घरको १० किलो र बजार प्रति कुपनको १० किलो गरी जम्मा १ हजार ६ सय क्वीन्टल चामल तीन वटा कार्यालयबाट वितरण भएको थियो ।
खाद्य शाखा कार्यालय सिमकोटमा चामल नआएपछि हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, सर्केगाड गाउँपालिका र सिमकोट गाउँपालिकाका करिव २५ हजार स्थानीयबासी मर्कामा परेका छन् ।
हुम्ला जिल्लाको खाद्य गोदाममा चामल नभएपछि बजारका व्यवसायीसँग स्थानीयबासीले २५ किलो चामलको ५ हजार ६ सय रुपियाँमा किन्ने गरेका छन् । अदानचुली गाउँपालिकाका स्थानीयबासी मानबहादुर थापाले भने-‘सरकारले अनुदानमा दिएको चामल खै त ? हामी स्थानीयबासीले खान पाएका छैनौँ ।’
सिमकोट गाउँपालिकाका स्थानीयबासी भक्तबहादुर शाही भन्छन-‘खाद्य संस्थानले चामल नदिएको तीन महिना भइसक्यो हामीले के खाएर बाँच्ने ?’ हुम्ला जस्तो विकट ठाउँमा नत सडकले छोएको छ नत गाडीनै पुगेको छ । ‘हुने खानेले २५ किलो चामलको ५ हजार ६ सय रुपियाँ तिरेर खाएका छन् हामी गरिवले के गर्ने ?’-भक्तबहादुरले गुनासो गरे ।
खाद्य संस्थान शाखा कार्यालयका प्रमुख नारायण सिंह केसीका अनुसार एयरलाइन्सले ढुवानी गर्न नमाने पछि जिल्लामा चामलको समस्या आएको हो । प्रमुख जिल्ला अधिकारी तथा खाद्य व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद शर्मा पौडेलले नेपालगञ्जबाट २ हजार ५ सय क्वीन्टल चामल ल्याउने प्रतिबद्धता जनाए । उनले भने-‘यसअघि प्रति किलो चामलको ४९ रुपियाँमा ढुवानी गरी नेपालगञ्जबाट आउँथ्यो भने आजभोलि नेपाली सेनाको स्काईट्रकले एक किलोको ८६ रुपियाँ लिन्छ ।’