भङ्गहा गाउँपालिका-९ हरिहरपुर हरिणमरी की ३५ वर्षीया शिलादेवी दासको हत्या गरिएको अवस्थामा वैशाख २० गते शव फेला परेको छ ।
शिलादेवीको दुवै हात सारीले बाँधेको र कपाल तथा लुगासमेत क्षतविक्षत अवस्थामा फेला परेकोले उनको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले प्रकृति मुचुल्का उठाई शव पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा ल्याइएको र पोष्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट तथ्यहरू खुल्ने बताए । डिएसपी पोखरेलले महिलाको बलात्कारपछि हत्या भएको आशङ्का गर्न सकिने अवस्था भएपनि अहिल्यै ठोकुवा गर्न नमिल्ने बताए ।
घटनाको अनुसन्धानका लागि मृतकको १८ वर्षीय छोरा जितकुमार दास र बुहारी १८ वर्षीया गितादेवी दासलाई नियन्त्रणमा लिएको डीएसपी पोखरेलले बताए । घटना गम्भीर प्रकृतिको देखिएकोले अनुसन्धान तीव्र गतिमा भइरहेको उनले बताए ।