INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा बलात्कार प्रयास गरेको आरोपमा असई विरूद्ध उजुरी

बहुबिवाहको आरोपमा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी २१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बर्दिया जिल्ला राजापुर नगरपालिका– ५ घरभई इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई २४ वर्षीय प्रविण चौलागाई विरूद्ध साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले साउन १२ गते राती सोधपुछ गर्ने  बाहानामा हिरासतबाट बाहिर बोलाएर माथि कोठामा लगी बलात्कार प्रयास गरेको भन्दै पिडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुधन न्यौपानेले बताउनु भयो ।

राती हिरासत कक्षबाट बाहिर बोलाएर मुद्दा मिलाई दिने भन्दै बलात्कार प्रयास गर्दै गर्दा गस्तीमा गएको प्रहरी गाडी कार्यालयमा प्रवेश गरे पछि छिटो हिरासतमा गएर बस्न भनेको पीडितले बताउनु भयो ।

आरोपित चौलागाईले सोधपुछ गर्न बोलाएको भएपनि बलात्कार प्रयास नगरेको बताउनु भयो ।

प्रहरीले पीडित महिला र २२ वर्षीय एक पुरूषलाई साउन ११ गते बहुबिवाह गरेको आरोपमा गिरफ्तार गरेको थियो ।

घटनाका विषयमा सुरूमा बलात्कार प्रयास भएको हो भने पनि पछि गएर होइन भन्दै महिलाले बयान  बदलेपछि जिल्ला प्रहरी कार्यालयले  राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, जिल्ला बार र एडभोकेसी फोरम लगायत संघ संस्थालाई बोलाएर पीडित र पीडित पक्षसँग सहजीकरण गराएको थियो ।

सहजीकरणका क्रममा पीडित पक्षले घटना भएको र एउटा मुद्दा चलि रहेको र थप त्यसमा आर्को मुद्दा थपिने डरले उजुरी नदिएको बताएका थिए ।

आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको र साउन १५ गते मात्र मुद्दा दर्ता गरिने डिएसपी न्यौपानेले बताउनु भयो ।

अन्य

भिडियो