बारेकोट गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष ३६ वर्षीय डम्बर बहादुर महतारालाई ०७९ साउन ९ गते सोही ठाउँ निवासी तरुण दलका वडा सचिव ३१ वर्षीय अविनाश नेपाली र सोही वडाका २७ वर्षीय टेकेन्द्र नेपालीले धारिलो हतियार प्रहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महतारा साउन ९ गते बिहान ९ बजे आफ्नै निवासमा बसेर स्थानीयबासीसँग कुरा गरिरहेको अवस्थामा काङ्ग्रेसका कार्यकर्ताले टाउकोमा खुकुरी र ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय खगेन्द्र बोहोराले जानकारी दिनु भएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डीएसपी सन्तोष निरौलाले बताउनु भयो ।
टाउको र ढाडमा चोट लागेका घाइतेको जिल्ला अस्पताल, जाजरकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज पठाइएको अस्पतालका डाक्टर अवसरसिंह राठौरले जानकारी दिनु भएको छ ।
घटनामा संग्लन आरोपित दुबै जना फरार रहेकाले खोजतलास भइरहेको डीएसपी सन्तोष निरौलाले बताउनु भयो । साथै घटना के कति कारणले भएको हो सोको अनुसन्धान भइरहेको डीएसपी निरौलाले जानकारी दिनु भयो ।
वडा अध्यक्ष महतरालाई धारिलो हतियार प्रहार भएको घटनाको विरोध गर्दै नेकपा एमाले जिल्ला कमिटी जाजरकोटले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको जिल्ला अध्यक्ष खिमबहादुर शाहीले बताउनु भएको छ ।
