स्थानीय तह निर्वाचनमा बालबालिकाको प्रयोग सम्बन्धमा अनुगमनको लागि तनहुँमा बाल अधिकार अनुगमन समिति गठन गरिएको छ ।
जिल्ला बालकल्याण समिति तनहुँको वैशाख २२ गते बसेको बैठकले समितिका स्टेरिङ कमिटीका संयोजक खड्गबहादुर अधिकारीको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरेको हो ।
समितिका सदस्यहरूमा जिल्ला बालकल्याण समितिका सदस्यहरू रामनाथ भट्टराई, समितिका सदस्य एवम् इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र प्रकाश पन्थ, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोककी अध्यक्ष सोनी खनिया, मानव अधिकार निगरानी समूहकी सदस्य नर्वदा काफ्ले र जिल्ला बालमञ्चका प्रतिनिधि, युथ फर चिल्ड्रेनका सचिव एलोज श्रेष्ठ रहेका छन् ।
सो समितिले निर्वाचन प्रचारको क्रममा, मतदानको क्रममा र मतगणना पश्चात विजय र्यालीमा बालबालिकाको प्रयोग भए/नभएको बारे अनुगमन गर्नेछ । तनहुँका सबै राजनीतिक दलहरूले निर्वाचनको कुनै पनि प्रयोजनमा बालबालिकालाई प्रयोग नगर्ने यस अघि नै प्रतिबद्धता जनाइसकेका थिए ।
सो बैठकमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले निर्वाचनमा बालबालिकाको प्रयोग गरिने कामले निर्वाचन आचारसंहिता र बालबालिकासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरूको उल्लङ्घन हुने हुँदा त्यस तर्फअनुगमन समिति चनाखो भई अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताए ।