जिल्ला अस्पताल, जाजरकोटमा दुई हप्तादेखि अत्यावश्यक औषधि अभाव भएको स्थानीयबासीले गुनासो गर्नु भएको छ ।
५० सैंयाको जिल्ला अस्पताल, जाजरकोटमा औषधिको अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् ।
जिल्ला अस्पतालमा विगत १५ दिनदेखि औषधि अभाव भएको छ । बिरामी भएर अस्पताल पुग्दा औषधि पर्याप्त नभएको भन्दै स्वास्थ्यकर्मीले चेकजाँच मात्र गर्ने तर औषधि नभएको बताएपछि बिरामी औषधि नलिएर रित्तो हात फर्किएको स्थानीय दिपक केसीले गुनासो गर्नु भयो ।
सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निशुल्क वितरण गर्ने भनिएपनि जिल्ला अस्पताल, जाजरकोटमा सामान्य सिटामोल, एमोक्सिलिन, ब्रुफिन, जिंक ट्यावलेट लगायतका औषधि बिरामीले पाएका छैनन ।
अस्पतालमा प्रत्येक दिन ५० देखि ६० जनासम्म बिरामी उपचारका लागि आउने तर अस्पतालबाट सामान्य औषधि समेत उपलब्ध गराउन नसक्दा उपचारका लागि आउने बिरामी निकै मारमा परेका छन् ।
कमजोर आर्थिक अवस्था र ग्रामिण क्षेत्रबाट उपचारका लागि अस्पताल आएका भेरी नपा–७ का बिरामीका आफन्त भुपबहादुर नेपालीले अस्पतालमा बिरामीको उपचार भन्ने मात्रै रह्यो अस्पतालबाट दिने कुनै पनि औषधि अहिले छैन सकिएको छ किनेर ल्याउनु मात्र भन्ने गरिन्छ भन्दै गुनासो गर्नु भयो ।
नेपालीले भन्नु भयो “पेट सम्बन्धि बिरामीलाई उपचारका लागि अस्पताल ल्याएको चार दिन भयो तर अस्पतालबाट सामान्य औषधि समेत उपलब्ध भएको छैन ।” हरेक औषधि किन्नु पर्ने भएपछि सरकारी अस्पताल नाम मात्रको भएको छ । अस्पतालकै फार्मेसीमा औषधि पाइने तर निशुल्क पाइने कुनै औषधि अस्पतालबाट नपाइने नेपालीले जानकारी दिनु भएको छ ।
औषधि बेला बेलामा अभाव हुने गरेको छ । अहिले पनि अस्पतालमा औषधि अभाव भएको छ । यो आर्थिक वर्ष सकिएको कारण गत वर्षको औषधि सकिएको र नयाँ आर्थिक वर्षको औषधि खरिद नभएको कारण अस्पतालमा औषधि अभाव भएको निमित्त अस्पताल प्रमुख डा. औसरसिंह राठौरले बताउनु भयो ।
डा. राठौरले भन्नु भयो “अस्पतालबाट निशुल्क वितरण गरिने ७० किसिमका औषधि मध्ये चार/पाँच किसिमका मात्रै उपलब्ध गराउन सकिएको छ यस विषयमा प्रदेश तथा केन्द्रमा समेत पत्राचार गरिएको छ हेरौ केही समयमा औषधिको व्यवस्था गर्न सकिन्छ की ।”