बटेश्वर गाउँपालिका–१ स्थित स्वास्थ्यचौकीमा खानेपानी र बिजुली नहुँदा कर्मचारी तथा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
लक्ष्मी माविको प्राङ्गणमा रहेको साविकको स्वास्थ्यचौकीलाई दुई वर्षअघि मानववस्ती भन्दा टाढा चौरीमा सारिएको छ ।
मानववस्ती भन्दा एक किलोमिटर टाढा आँपको बगैँचामा सारिएको स्वास्थ्य चौकीमा खानेपानी र बिजुलीबत्ति जडान गरिएको छैन ।
बिजुली तथा खानेपानीको व्यवस्था नहुँदा गर्मी र वर्षायाममा काम गर्न कठिनाई भइरहेको स्वास्थ्य चौकीका इञ्चार्ज श्याम साहले बताउनु भयो ।
बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न भवन बनाइएको छ तर हालसम्म बिजुली र खानेपानीको व्यवस्था नहुँदा कर्मचारीहरू चर्कोे गर्मी भएर आपँको रुखको छहारीमा बसेर बिरामीलाई स्वास्थ्य उपचार गर्न बाध्य भएका छन् ।
चर्को गर्मीले गर्दा बिना बिजुलीको कार्यकक्षमा बसेर बिरामी उपचार गर्न सम्भव नभएर आँपको छहारीमै बसेर स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएको स्वास्थ्यकर्मी रमेश महतोले बताउनु भयो ।
उहाँले स्थानीय जनप्रतिनिधिको बेवास्ताका कारण चर्काे गर्मीको समयमा आँपको रुखको तल बसेर स्वास्थ्य सेवा दिनुपर्ने बाध्यताका साथै खानेपानीको व्यवस्था घरबाटै गरेर ल्याउनु परेको बताउनु भयो ।
स्वास्थ्यचौकीमा हाल एक जना वरिष्ठ अहेव, दुई जना हेल्थ असिस्टेन्ट, दुई जना अनमी, एक जना अहेव र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
स्वास्थ्यचौकी सञ्चालनका लागि गाउँपालिकाको बजेटबाट बनाइएको भवनमा बिजुलीको समस्या र खानेपानीको समस्या रहेको छ ।
खानेपानीको लागि धाराको पाइप गाडिएको छ तर पाइप बिचबिचमा फुटेकाले गर्दा फोहोर पानी आउने गरेको छ ।
स्वास्थ्यचौकीको प्राङ्गणमा डिप टयुवेल गाडिएको छ तर बिजुली नहुँदा सञ्चालन हुन नसकेको स्वास्थ्यकर्मी अम्रेश सिंहले बताउनु भयो ।
स्वास्थ्यचौकीमा पर्खाल नभएकाले गर्दा राति र सार्वजानिक विदाका दिन बाहिरका मानिस भवनको माथिबाट प्रवेश गरी मेडिकल सामग्री र औषधि चोर्ने गरेको उहाँले गुनासो गर्नु भयो ।
‘स्वास्थ्यचौकी वरिपरि बाँदर, बँदेल र निलगाई लगायतका जङ्गली जनावरहरू हुलका हुल आउने गर्दछ । हामीलाई दिउँसै पनि स्वास्थ्यचौकीमा बस्न डर हुन्छ ।’–स्वास्थ्यचौकीका इञ्चार्ज श्याम साहले भन्नु भयो ।
चौरीमा सारिएको स्वास्थ्यचौकीमा सेवाग्राहीहरूलाई समेत सेवा लिन आउन समस्या भइरहेको छ । सेवाग्राही एक्लै आउन समस्या रहेकाले अधिकांश सेवाग्राही नआउने गरेको उहाँले बताउनु भयो ।
बिरामी आएपनि गाउँपालिकाबाट समयमा औषधि आपूर्ति हुन नसक्दा फर्केर जाने गरेको इञ्चार्ज साहले जानकारी दिनु भयो ।
बटेश्वर गाउँपालिका–१ का वडा अध्यक्ष अशोककुमार महतोका अनुसार आफू निर्वाचित हुनु पूर्व नै स्वास्थ्यचौकी सबै दलको सहमतिमा सारिएको हो ।
मानववस्ती भन्दा टाढा राखिएकोले बिजुली पु¥याउन समस्या भएको उहाँको भनाइ छ । बिजुली पु¥याउनका लागि धेरै रुख काटनुपर्ने भएकाले गर्दा समस्या भइरहेको उहाँले बताउनु भयो ।
बिजुलीबत्तिको लागि पोल गाडिएको भएपनि सडक छेउमा पर्ने रुख धनीहरूले रुख नकाटेकाले गर्दा समस्या भइरहेको उहाँको भनाइ छ । आफूले चाँडै जग्गाधनीहरूसँग समन्वय गरेर समस्या समाधान गर्ने उहाँले बताउनु भयो ।
बटेश्वर गाउँपालिका–५ स्थित स्वास्थ्यचौकीमा भवन अभावले गर्दा बिरामीहरूलाई रुखको तल खुल्ला स्थानमा चेकजाँच गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकीका इञ्चार्ज राजकुमार महतोले गुनासो गर्नु भयो ।
उहाँले गाउँपालिका अध्यक्ष रामअशिष महतो र वडा नं. ५ का वडा अध्यक्ष शिवकरण यादवलाई स्वास्थ्यचौकीमा भवन अभावले गर्दा खुल्ला स्थानमा बिरामी चेकजाँच गर्दा समस्या भइरहेको जानकारी गराएको भएपनि समस्या समाधानका लागि अहिलेसम्म पहल नभएको बताउनु भयो ।




