INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्यकर्मी नहुँदा कोभिड अस्पतालमा उपचार बन्द

स्वास्थ्यकर्मी नहुँदा जुम्लाका कोभिड अस्पतालमा उपचार सेवा बन्द भएको छ । यहाँका चन्दननाथ नगरपालिका बाहेक सात गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएका थिए ।

स्थापना भएका कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर र केही औषधि छन् । यी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचार गर्नबाट वञ्चित भएका हुन् ।

सिजा गाउँपालिका–५ की सीता आचार्य कोरोना महामारीका बेला गाउँमै चिकित्सक पुगेपछि सहज भएको बताउनु भयो । तर एक हप्ताअघि ज्वरो आउने र टाउको दुख्ने समस्याले सताएपछि कोभिड अस्पतालमा पुगेको बताउनु भयो  । तर कार्यालय सहयोगीकै भरमा छाडिएको कोभिड अस्पतालबाट आफुले कुनै सेवा नपाएको उहाँले गुनासो गर्नु भयो । उक्त कोभिड अस्पताल एक वर्षअघि स्थापना गरिएको थियो ।

गुठीचौर गाउँपालिकाको झारज्वालास्थित कोभिड अस्पतालमा अहिले फलामका १० र काठका ४० गरी ५० बेड रहेका छन् । फिल्टर, भाँडाकुँडा, लत्ताकपडा र केही औषधि पनि राखिएको छ ।

स्थानीय कमल न्यौपानेले ठूलो बजेट खर्च गरी खोलेको अस्पताल अहिले अलपत्र परेको बताउनु भयो । ‘ठूलो तामझामसहित अस्पताल खोलियो, अहिले त्यसैलाई नर्मल वार्डमा परिणत गरी उपचार दिन सकिन्थ्यो नि,’ उहाँले भन्नुभयो, ‘कोभिड अस्पतालकै नाममा केही जनप्रतिनिधि र कर्मचारीले राम्रै कमाइ पनि गरे, तर अहिले अस्पताल प्रयोगविहीन छ ।’

गाउँपालिका स्वास्थ्य संयोजक बालाराम नेपालीले एक महिना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ल्याइएका चिकित्सक फर्किएपछि अस्पताल अलपत्र परेको बताउनु भयो । उहाँका अनुसार अस्पताल स्थापना र व्यवस्थापनमा करिब १५ लाख रुपियाँ खर्च भएको थियो । तिला

गाउँपालिकामा कोभिड अस्पताललाई भत्काएर १० शैयाको अस्पताल बनाउन लागिएको छ  । उक्त अस्पतालमा एक चिकित्सकले करिब ६ महिना काम गरे । अहिले अस्पतालको सामान कुडारी स्वास्थ्य चौकीमा थन्काइएको छ ।

तातोपानी, कनकासुन्दरी, हिमा र सिजा गाउँपालिकामा पनि कोभिड अस्पताल सञ्चालनमा छैनन् । चार ओटै पालिकाले कोभिड अस्पताल बनाउन १५÷१५ लाख रुपियाँ खर्च गरेका थिए ।

अस्पताल बन्द हुँदा यसअघि गरिएको लगानी खेरा गएको स्थानीय नवराज कार्कीले बताउनु भयो  । ‘अस्पताल खुल्दा सहज स्वास्थ्य सेवाको आशा गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘अहिले अस्पतालका सामान र बेडहरू कता हराए पत्तो नै छैन ।’

कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कोरोना सङ्क्रमण घटेपछि कोभिड अस्पतालबाट सेवा प्रवाह नभएको बताउनु भयो ।

‘औषधि–उपकरण तयारी अवस्थामा छन्, नयाँ भेरिएन्ट आउने बित्तिकै सञ्चालनमा आउनेछन्,’ उहाँले भन्नुभयो, ‘यही जनशक्तिले अन्य स्वास्थ्य सेवा दिन सकिने अवस्थाबारे पालिकाहरूसँग छलफल भइरहेको छ ।’
Photojumla20220722

अन्य

भिडियो