INSEC Online

📅 २०८३ जेष्ठ २२

खानेपानीको अभाव भएपछि स्थानीय एक घण्टा हिँडेर खानेपानीको जोहो गर्न बाध्य

बनगाडकुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्क र चौरमा वर्षायाममा पनि खानेपानीको समस्या भएको छ ।

समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा रहेका बस्तीमा खानेपानी समस्या भएपछि स्थानीयहरू १ घण्टा हिडेर खानेपानीको जोहो गर्न बाध्य भएको स्थानीय कमल विकले बताउनुभयो ।

०६६ मा निर्माण गरेको सौर्य ऊर्जा खानेपानी योजनाको मोटर बिग्रिएपछि स्थानीयले १३ वर्षदेखि खानेपानी समस्या भोग्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, बिहानै उठेर गाग्री लिई एक घण्टा तलको मार्केधारा मुहानमा जानु पर्छ, खानेपानीको हाहाकार भएपछि माझखर्क ५३ र चौरका ५७ गरी १ सय १० घर परिवार प्रभावित भएका छन् ।

०६६ मा साविक गाउँ विकास समितिले ३ लाख रुपियाँ खर्च गरी सौर्य खानेपानी योजना संचालन गरेको थियो । मार्केधारा मुहानमा पनि लाइन बस्नुपर्ने बाध्यता भएको ४५ वर्षीया जुनमाया घर्तीले बताउनुभयो ।‘दुई गाउँको पानी भर्ने मुहान एउटै छ, उहाँले भन्नुभयो, ‘दैनिकजसो गाग्रीमा ४/५ पटक पानी बोक्नुपर्दा गाउँका धेरै महिला ढाडको रोगी छौं । धेरै वर्षा भए घर नजिकैको मुहानमा पानी आउँथ्यो भन्दै उहाँले खडेरीका कारण पानीको समस्या चुलिएको बताउनुभयो ।

पानीको समस्या धेरै भएको र छिटो उठेर मुहान नगए दिनभरि पानी खान नपाइने माझखर्ककी ४० वर्षीया सुनीता रोकाको भोगाई छ । ‘बस्तीदेखि खोलासम्म पुग्न जङ्गलको बाटो हिँड्नुपर्छ, वन्यजन्तुको डर त्यत्तिकै हुन्छ, उहाँले भन्नुभयो, ‘घोडेटो बाटो पनि गतिलो छैन, जोखिमै जोखिममा पानीको जोहो गर्न बाध्य छौं ।

निगालचुला स्थित स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर सुनारले पानीको समस्याका कारण प्रसुति गृहमा सेवा दिन कठिनाइ भएको बताउनुभयो । माझखर्कमा खानेपानी समस्या समाधानका लागि लिफ्ट खानेपानीको विकल्प नभएको बनगाडकुपिण्डे नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर घर्तीको भनाइ छ ।

उहाँका अनुसार चौरमा सञ्चालित योजनाको मोटर मर्मत गर्न ०६९ देखि ०७५ सम्म १९ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । ‘पटकपटक मोटर बिग्रिरहने समस्याले गाउँमा खानेपानी हाहाकार भयो, उहाँले भन्नुभयो, ‘हामीकहाँ आउने सीमित बजेटले लिफ्ट खानेपानी बनाउन सकिँदैन, प्रदेश र संघीय सरकारले पटकपटक बजेट माग गरे पनि बेवास्ता गरिरहेका छन् । खानेपानीको समस्याका कारण ५ वर्षको अवधिमा २ बस्तीबाट ७० परिवारले अन्यत्र बसाइँ सरेको उहाँको भनाइ छ ।
PhotoSalyan20220721

 

अन्य

भिडियो