INSEC Online

📅 २०८३ जेष्ठ २१

शनिगाउँ स्वास्थ्य चौकीमा एक महिनादेखि जुकाको औषधि अभाव

जुम्लाको उत्तरी भेगमा पर्ने सिंजा गाउँपालिकाको शनिगाउँ स्वास्थ्य चौकीमा जुकाको औषधि अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जुकाको औषधि अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

वर्षातको समय जुका पर्ने र झाडापखालाको सिजन हो । वर्षा सुरु भएपछि पानी धमिलो हुने र त्यही धमिलो पानी पिउनु पर्ने बाध्यता भएकाले मानिसका पेटमा जुका पर्ने गरेको स्थानीय शान्ति बुढाले गुनासो गर्नु भएको हो । उहाँले भन्नु भयो जुका परेपछि औषधि खानु पर्ने हो । तर स्वास्थ्य संंस्थामै जुकाको औषधि अभाव छ ।

स्वास्थ्य संस्थाका इन्चार्ज रमेश रावलका अनुसार जुकाको औषधि सकिएको एक महिना भन्दा बढी भयो । गाउँपालिकाको स्वास्थ्य शाखामा माग गरेका छौँ । आपूर्ति भएको छैन । सेवाग्राहीबाट जुकाको औषधिको माग भएपनि दिन सकेका छैनौँ ।

दैनिक स्वास्थ्य संस्थामा १५ देखि २० जना बिरामी आउने गरेका छन् । तर जुकाको औषधि नहुँदा समस्या भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो स्वास्थ्य संस्थामा भौतिक संरचना नयाँ भवन निर्माण भएकोले सहज भएको छ । पानी र शौचालयको पनि सुविधा छ । तर औषधि बेला बेलामा अभाव हुने गरेको छ । प्रसुति प्रोत्साहन भत्ता पनि सुत्केरी हुने वित्तिकै दिन पाए राम्रो हुने थियो । तर आर्थिक वर्षको अन्त्यतिर दिने गरिएको छ । गएको आर्थिक वर्षमा ९२ जना सुत्केरी महिलालाई बर्षको अन्त्यतिर प्रोत्साहन भत्ता दिएको उहाँले बताउनु भयो ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार स्वास्थ्य संस्थामा औषधि अभावको विषयमा स्वास्थ्य शाखाका प्रमुखलाई बुझ्न लगाएका छौँ । उहाँले भन्नुभयो स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भई नयाँ आर्थिक बर्षको बजेट विनियोजन गरेका छौँ । अत्यावश्यक औषधि स्वास्थ्य संस्थामा चाँडै उपलब्ध गरिने छ ।

सुत्केरीको प्रोत्साहन भत्ता वर्षको अन्त्यतिर दिने व्यवस्था रहेछ । तर हामी नयाँ जनप्रतिनिधि आएपछि समयमा प्रोत्साहन भत्ता वितरण गर्नका लागि १ लाख रुपियाँको कोष बनाएका छौँ । त्यही कोषबाट समयमै पोषण भत्ता उपलब्ध गराउने तयारी गरेका छौँ उहाँले भन्नुभयो ।

अन्य

भिडियो