INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विकासका शिक्षकहरूले आठ महिनादेखि तलब नपाएको गुनासो, समाधानका लागि पहल सुरू

हंसपुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरू विगत आठ महिनादेखि तलबबाट वञ्चित भएको गुनासो गरेका छन् । नेपाल सरकारले तय गरेको पारिश्रमिक नगरपालिकाले उपलब्ध गराउन सकेको छैन ।

हंसपुर नगरपालिकाका प्रमुख प्रदिप यादवलाई तलव उपलब्ध गराउन बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरूले पटक–पटक माग गरेपनि कुनै सुनुवाई नभएको शिक्षकहरूको गुनासो छ ।

बालविकास शिक्षक तथा विद्यालय कर्मचारी संयुक्त सङ्घर्ष समितिका संयोजक रेणु मण्डलले आफूहरूले विगत आठ महिनादेखि तलब नपाएको गुनासो गर्नु भयो ।

लामो समयदेखि तलब नपाउँदा आर्थिकसँगै सामाजिक र सांस्कृतिक अधिकार नै हनन् भएको उहाँले बताउनु भयो ।

असार ३० गते नै नगर प्रमुख यादवलाई समस्या समाधान गर्न ज्ञापनपत्र बुझाएको संयोजक मण्डलले बताउनु भयो ।

ज्ञापन पत्र बुझाएको भएपनि हालसम्म नगर प्रमुखले कुनै चासो नदेखाएको उहाँको आरोप छ ।

हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानका अनुसार शिक्षक र विद्यालय कर्मचारीहरूको तलब अविलम्ब उपलब्ध गराउनुपर्ने बताउनु भयो ।

उहाँले आठ महिनासम्म तलब नपाएर विद्यालयमा पढाउनुपर्दाको कठिनाई र यसले शिक्षण सिकाइमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै अविलम्ब नगरपालिकाबाट रकम उपलब्ध गराउनुपर्नेमा कार्यपालिका बैठकमा माग गर्ने बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रदिप यादवले बालविकास र विद्यालयमा कार्यरत कर्मचारीहरूलाई तलब खुवाउने विषय आपूm निर्वाचित हुनुभन्दा पहिलेदेखिकै घटना भएको बताउनु भयो ।

यसबारे शिक्षा शाखामार्फत जानकारी लिँदै के कति कारणले उहाँहरूको तलब नदिएको सो बारेमा जानकारी लिएर समस्या समाधान गर्ने बताउनु भयो ।

हाल नेपाल सरकारले ८ हजार र स्थानीय तहले ७ हजार रुपियाँ दिनुपर्ने प्रावधान रहेको छ । सोही अनुसार विद्यालयमा कार्यरत लेखापालको मासिक तलब १८ हजार ५ सय र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार रुपियाँ रहेको छ ।

हंसपुर नगरपालिकाभित्रका ३० ओटा सामुदायिक विद्यालयमा ७१ जना कर्मचारीहरू कार्यरत रहेका छन् । जसमध्ये बालविकासका ४९ जना, सहयोगी १९ जना र तीन जना लेखापालहरू छन् ।

अन्य

भिडियो