INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या कसुरमा जन्म कैद सजायको फैसला

जिल्ला अदालत इलाम परिसरमा ४५ वर्षीया विमलाकुमारी पराजुलीको हत्या गरेको कसुरमा अदालतले धनकुटा स्थायी घर भई इलाम नगरपालिका–५ का बस्दै आएका ३५ वर्षीय युवराज बानियालाई जन्म कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश हरिश्चन्द्र इङ्गनामको असार २७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जन्म कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनु भयो ।

पीडित विमलाकुमारीको शव ०७८ असार २८ गते जिल्ला अदालत परिसरमा अर्ध नग्न अवस्थामा फेला परेको थियो ।

महिलाको शव फेला परेपछि प्रहरीले जिल्ला अदालतका न्यायाधीशको सुरक्षा गार्डका रूपमा कार्यरत असइ युवराज बानियालाई तत्काल गिरफ्तार गरी अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा आरोपितले लेनदेन विवादकाबिच हत्या गरेको र विमलाले लगाएको एक तोलाको सुनको सिक्री चोरी गरेको बयान दिएपछि प्रहरीले हत्या र चोरी शीर्षकमा ०७८ साउन २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

हत्या कसुरमा जन्म कैद र चोरी कसुरमा थप एक वर्ष कैद सजायको आदेश भएको श्रेस्तेदार भट्टराईले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ०७८ असार २९ गते गरिएको थियो ।

अन्य

भिडियो