१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले म्याङलुङ नगरपालिका–१ का २४ वर्षीय विनोद लिम्बूलाई सात महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको असार २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ११ हजार रुपियाँ क्षतिपूर्ति र ११ हजार जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितलाई आरोपितले ०७८ चैत १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७८ चैत २ गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत २१ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको ०७८ चैत २७ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २ गते गरिएको थियो ।