बुढीगंगा नगरपालिकामा असार २३ गते बिहान ७ बजेदेखि पुनःमतदान कार्य सुरु भएको छ ।
वैशाख ३० गते स्थगित बुढीगंगा नगरपालिकाका १० ओटा वडाका १९ ओटा मतदान स्थलमा मतदान कार्य पुनःसञ्चालन गरिएको हो ।
१३ हजार ६ सय ५९ मतदाता रहेको यस नगरपालिकामा निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरी शान्ति पूर्ण रुपमा मतदान कार्य सुचारु भइरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताउनु भएको छ ।
निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था सहित निर्वाचनका लागि आवश्यक अन्य तयारी सहित मतदान कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था गरिएको छ भने मतदाताहरुले भयरहित वातावरणमा मतदान गरिरहेका छन् ।
निर्वाचनलाई स्वाच्छ, निष्पक्ष र भयरहित वातारणमा सम्पन्न गर्न बुढीगंगा नगरपालिकाका १० ओटै मतदानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकृतको नेतृत्वमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको छ ।
बुढीगंगा नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय तह निर्वाचनमा इन्सेकका प्रतिनिधिहरुले पर्यवेक्षण गरिरहेका छन् ।
अहिलेसम्म मतदाताहरुले भयरहित वातावरणमा मतदानमा भाग लिने र मतदान गर्ने कार्य गरिरहेको पर्यवेक्षणमा खटिनु भएका इन्सेकका प्रतिनिधि पदमबहादुर सिंहले बताउनु भएको छ ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान कार्य स्थगित गरिएको थियो ।



