INSEC Online

📅 २०८३ जेष्ठ २१

राउटे समुदायमा देखिन थाले स्वास्थ्य समस्या

अव्यवस्थित बसाई तथा पोषिलो खानपिनको अभावमा राउटे समुदायमा स्वास्थ्य समस्या देखिन थालेको छ । कर्णाली प्रदेशको सल्यान, दैलेख, सुर्खेत र जाजरकोट लगायतका जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायमा पछिल्लो समयमा कुपोषण लगायतका स्वास्थ्य समस्या देखिन थालेको हो ।

समुदायमा कसैको मृत्यु भएमा राउटेहरू बसाई सर्ने गर्दछन् । एकठाउँबाट अर्को ठाउँमा बासस्थान परिवर्तन गर्दा खानपान, भौगोलिक बनावट, स्वच्छ पिउने पानी, सफा तथा पोषिलो खानेकुराको अभाव आदिले राउटे समुदायमा स्वास्थ्य समस्या बढ्दै गएको राउटेको क्षेत्रमा कार्यरत सोसेक दैलेखका लाल बहादुर खत्रीले जानकारी दिनुभयो ।

आफूलाई ‘जङ्गलको राजा’ भनेर चिनाउन गर्व गर्दै घुमन्ते जीवन बिताउने भएका कारण व्यक्तिगत तथा सामुदायिक सरसफाई सम्बन्धी ज्ञानको कमी छ उहाँले भन्नुभयो, उच्च जन्मदर मृत्युदर र कुपोषणजस्ता स्वास्थ्य समस्या राउटे नागरिकले झेलिरहेका छन् ।

विस्तारै यस समुदायमा केही परिवर्तन आउन थालेपनि बिरामी हुँदा भने सहजै उपचार गराउन अझैपनि समस्या रहेको उहाँले बताउनुभयो । हाल सो समुदाय दैलेख र सुर्खेतको सिमानामा रहेको जाजरकोट जिल्लाको छेडागाड नपा–२ सोयडा भन्ने स्थानमा बसोबास गर्दै आएको छ । अहिले आप्mनो समुदायको सङ्ख्या १ सय ४४ जना रहेको राउटे मुखिया सूर्य नारायण शाहीले जानकारी दिनुभयो । उहाँले बर्षातको समय सुरु भईसकेकाले अब चिसोबाट राउटेलाई कसरी जोगाउने भन्ने समस्या भएको गुनासो गर्नु भयो । राउटे समुदायलाई चिसोबाट जोगाउन तत्काल त्रिपाल लगायतका सामाग्रीकोे आवश्यकता रहेको बताउनुभयो ।

लोप हुने खतरा
भर्खरै जन्मिएको शिशुलाई समेत दिनभर बस्तीमै छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेको स्वाथ्यकर्मी समेत रहेका लालबहादुर खत्री बताउनु हुन्छ । राउटे समुदायका गतिविधिलाई लामो समयदेखि प्रत्यक्ष रूपमा नजिकबाट नियाल्दै आएका उहाँले भन्नुभयो, मदिराको कुलत छुटाउन नसकिए राउटे समुदाय नै लोप हुने खतरामा छ । गर्भावस्थामा अत्याधिक मदिरा सेवनका कारण दुई जना महिलाको गर्भपतन समेत भईसकेको छ ।

अत्याधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही, चिसोका कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान जान थालेको खत्री बताउनुहुन्छ । विगत चार वर्षदेखि राउटे बस्तीको रेखदेखमा खटिएका खत्रीका अनुसार २०७७ असारदेखि २०७९ असारसम्म सात जना शिशुको एक वर्ष नपुग्दै मृत्यु भएको तथ्याङ्क छ । यस्तै सोही समयावधिमा राउटे समुदायका १७ जनाले ज्यान गुमाई सकेका छन् । यो अवधिमा अत्यधिक मदिरा सेवन, बसाई सरेर गएपछि नयाँ ठाउँको भौगोलिक बनावट थाहा नहुँदा भिरबाट लडेर तथा दीर्घ रोगका कारण राउटेहरूको मृत्यु भएको खत्रीको भनाई छ ।

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त भइरहेका छन् । अत्याधिक मदिरा पिउने कुलतसँगै आमाबुवाको लापरवाही, कुपोषणजस्ता कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान जान थालेको सरोकारवालाहरू बताउँछन् ।

राउटे मुखिया सूर्यनारायण शाही पनि आफ्नो समुदायका मानिसहरूले अत्याधिक मदिरा सेवन गर्न थालेको भन्दै चिन्ता प्रकट गर्छन् । संघीय सरकारले राउटे समुदायका प्रतिव्यक्तिलाई मासिक तीन हजार रुपियाँ र कर्णाली प्रदेश सरकारले मासिक दुई हजार रुपियाँको दरले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । राउटे समुदायका अगुवाहरू पनि अत्याधिक मदिरा पिउने बानीका कारण आफ्नो समुदाय मासिने हो की भन्ने चिन्ता लाग्न थालेको बताउँछन् । अरू समुदायसँग घुलमिल बढेसँगै उनीहरूले खाएको देखेर राउटेले पनि मदिरा पिउन सिकेको राउटे मुखिया शाहीको आरोप छ ।

राउटे समुदायका मानिसको उपचार तथा अनौपचारिक शिक्षाका लागि राउटे बस्तीमा स्वास्थ्यकर्मी, शिक्षक र सुरक्षाकर्मी खटिएका छन् । राउटे समुदायको स्वास्थ्य समस्या तथा प्राथमिक उपचारका लागि दुई जना स्वास्थ्यकर्मी तथा दुई जना शिक्षक राउटे बस्तीमा खटिएका छन् ।

मूलप्रवाहमा ल्याउने नीति
राउटे समुदायको संरक्षणका लागि विभिन्न प्रयत्न भइरहेका छन् । राउटे समुदायमा मदिरा नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गर्नुका साथै बस्ती वरपरका मान्छेलाई मदिरा नबेच्न आग्रह गर्ने काम भइरहेको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख अनिता ज्ञवालीको भनाई छ । महिनाको २ हजार रुपियाँ भत्ता दिँदै आएको कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई सामाजिकीकरण गर्ने प्रयास सुरु गरेको महाशाखा प्रमुख ज्ञवालीले जानकारी दिनु भयो ।

राउटे समुदायका समस्या पहिचान गरिएको र ती समस्या समाधान गर्न राउटे सम्बन्धी छुट्टै नीति बनाएर काम गर्ने ज्ञवालीले आश्वासन दिनु भयो । राउटे समुदायको मूलप्रवाहीकरणसम्बन्धी नीतिमा शिक्षा, स्वास्थ्य, आयआर्जन, मौलिकताको संरक्षण, सहयोगका लागि एकद्वार नीतिजस्ता विषय समेटिएका छन् । अहिले १ सय ४४ जनाको सङ्ख्यामा रहेका राउटे समुदायलाई यो नीतिले विभिन्न कुलतबाट मुक्त गराउँदै मूलप्रवाहीकरणमा सघाउने सबैको अपेक्षा छ ।
Photosalyan20220705 Photosalyan20220705.

अन्य

भिडियो