सिमकोट गाउँपालिका-८ स्यांडा गाउँस्थित सैपाल माविको कक्षा १० मा अध्यनरत १६ वर्षीया चुनपुरा शाही र १६ वर्षीय सुरेश शाहीलाई गृहकार्य नगरेको आरोपमा सोही विद्यालयका शिक्षक जुनराज हमालले कुटपिट गरेको विषयमा अभिभावकले विरोध जनाएपछि उक्त विद्यालयमा एक हप्तादेखि पठनपाठन प्रभावित भएको छ ।
विद्यालयमा वैशाख १२ गते शिक्षक हमालले कक्षा १० का विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरेपछि ती विद्यार्थीका अभिभावकले विद्यालयमा गई शिक्षकलाई ‘धम्क्याए’पछि कक्षा ९ र १० को पठनपाठनमा समस्या आएको प्रधानाध्यापक देवीसिंह बुढाले बताए ।
प्रधानाध्यापक बुढाका अनुसार सामान्य विवाद भएको हो यो कुरा विद्यार्थीले आफ्ना अभिभावकलाई नभन्नु पर्ने हो भन्दै उल्टै गुनासो गरे । उनका अनुसार सो विद्यालयमा माविका लागि दरबन्दी नभए पनि निमाविका शिक्षकहरूले पठनपाठन गरिरहेका थिए । सामान्य विवाद भएपछि शिक्षक आ-आफ्नो घर लागेका कारण कक्षा ९ र १० का विद्यार्थीको पढाइ प्रभावित भएको कक्षा १० का विद्यार्थी सरजन रावलले बताए ।
विद्यालयमा १२ जना शिक्षक हुनु पर्नेमा ६ जना शिक्षक मात्रै रहेको स्थानीयबासी चक्र बुढाले गुनासो गरे । प्रधानाध्यापक बुढाले भने-‘अब हामी शिक्षकको खोजीमा लाग्छौँ र छिटो भन्दा छिटो समस्या समाधान गर्छौँ ।’