सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् ।
०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८ वर्षीय च्याम्पा सिंह लामाले गुनासो गर्नु भएको छ ।
समयमै सामाजिक सुरक्षा भत्ता र सरकारले तोके अनुसारको रकम पनि नदिएको लामाले गुनासो गर्नु भयो ।
गाउँपालिकाले यस अघि त्रैमासिक रुपमा ज्येष्ठ नागरिकको सुरक्षा भत्ता वितरण गर्ने गरेको भए पनि पछिल्लो समयमा करीव ६ महिनाको अवधिमा वितरण गरिने गरेको लामाले बताउनु भयो ।
ज्येष्ठ नागरिक लामाले तीन हजार रुपियाँका दरले पाउनु पर्ने उक्त रकम २ हजार कम गरेर ६ महिनाको अवधिमा वितरण हुने गरेको आरोप लगाउनु भएको छ ।
सरकारले ६० वर्ष भन्दा माथिकालाई मासिक ३ हजार र ७० वर्ष माथिकालाई मासिक ४ हजार रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । तर हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले ६ महिनाको अवधिमा २ हजार कम गरेर भत्ता वितरण गर्दै आएको ज्येष्ठ नागरिकहरूको आरोप छ ।
विगत एक वर्षदेखि बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला र अपङ्गता भएका व्यक्तिका लागि सिमकोट गाउँपालिकाले बैंकमार्फत सुरक्षा भत्ता जम्मा गर्ने गरेको छ । गाउँपालिकाले बैंकमार्फत सुरक्षा भत्ता जम्मा गर्ने प्रावधान ल्याएपनि अधिकांशको रकम जम्मा नहुने गरेको स्थानीयले गुनासो गर्नु भएको छ ।
ज्येष्ठ नागरिकको गुनासो अनुसार सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले यसअघि केही समस्या आएको भएपनि असार महिनापछि त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता जम्मा गरिने आश्वासन दिनु भएको छ ।