INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जान हिंसा पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसाबाट पीडित पलाँता गाउँपालिका–४ की २० वर्षीया इश्वरा बुढालाई कानुनी प्रकृयामा जान इन्सेकले असार १३ गते सहयोग गरेको छ ।
२२ वर्षीय पति श्रृष्ठराज बुढाले अर्काे विवाह गरेर कुटपिट गरी घरनिकाला गरेको र कानुनी प्रक्रियामा पुग्न समस्या भएको भन्दै पीडितले इन्सेकले गठन गरेको सिफारिस संयन्त्रमा सहयोगको लागि निवेदन दिएपछि इन्सेकबाट सहयोग हस्तान्तरण भएको हो ।

पीडितले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो ।

घर निकाला भएपछि माइतमा बस्दै आएकी पीडित बुढालाई मानव अधिकार रक्षक सञ्जाल कालिकोटका संयोजक तथा सिफारिस संयन्त्रका सदस्य डिल्लीप्रसाद चौलागाईले ५ हजार रुपियाँ हस्तान्तरण गर्नु भएको छ ।

पीडितलाई कानुनी प्रक्रियामा जानका लागि सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले बताउनु भएको छ । पीडितले आरोपितको फोटोसहित निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको कालिकोटका प्रहरी प्रमुख डीएसपी सिद्वराज न्यौपानेले बताउनुभयो ।

घर निकाला भएकी पीडितले कानुनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदश कार्यालयलाई सहयोगका लागि जेठ ३० गते निवेदन दिनु भएको थियो ।

सहयोग पाएपछि पीडित बुढाले कानुनी प्रकृयामा जान आउन सजिलो भएको भन्दै इन्सेकलाई धन्यबाद दिनु भयो ।

Kalikotphoto20220628

अन्य

भिडियो