INSEC Online

📅 २०८३ जेष्ठ २१

दमौली अस्पतालको भिडियो एक्सरे मेसिन बन्द हुँदा सेवाग्राही मर्कामा

दमौलीमा रहेको सरकारी अस्पताल दमौली अस्पतालको भिडियो एक्सरे मेसिन बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

अस्पतालमा दक्ष र अनुभवी जनशक्ति नहुँदा डेढ महिनादेखि भिडियो एक्सरे सेवा बन्द भएको छ । सरकारी अस्पतालको भिडियो एक्सरे मेसिन बन्द हुँदा सो अस्पतालमा उपचार गर्न आउने बिरामी निजी  अस्पतालमा महङ्गो शुल्कमा भिडियो एक्सरे गर्नु पर्ने बाध्यतामा रहेका छन् ।

व्यास नपा–१४ का मनोज सुवर्णकारले सरकारी अस्पतालमा भिडियो एक्सरे बन्द हुँदा निजी अस्पतालमा गएर महङ्गो शुल्क तिरेर सेवा लिनु परेको बताउनु भयो । यसअघि सो अस्पतालले साताको दुई दिन भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको थियो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.दिवस ढकालले ओपीडी हेर्ने डाक्टरले भिडियो एक्सरे सञ्चालनसम्बन्धी तालिम लिनुभएको र उहाँले नै साताको दुई दिन हेर्दै आउनु भएको बताउनु भयो । तर उहाँको डेढ महिनाअघि नै अन्यत्र सरुवा भएपछि उक्त सेवा बन्द भएको हो ।

दमौली अस्पतालमा भिडियो एक्सरे सेवा ५ सय रुपियाँमा उपलब्ध गराइएको थियो । अहिले बिरामीहरू निजी अस्पतालमा १ हजार २ सय रुपियाँभन्दा बढी शुल्क तिर्नु पर्ने बाध्यतामा छन् ।

दमौली अस्पतालमा सातामा २५ जनासम्मले यो सेवा लिँदै आएकोमा अहिले भने बाहिर पठाउनु पर्ने अवस्था आएको डा.ढकालले बताउनु भयो ।

अन्य

भिडियो