INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण

स्थानीय तहको ०७४ जेठ ३१ गते हुने निर्वाचनलाई लक्षित गरी धनकुटाका दुई ओटा मतदान केन्द्र अपाङ्गतामैत्री बनाएको छ ।

अपाङगता भएका मतदाताहरूलाई मतदान केन्द्रमा गएर मतदान गर्नका लागि सहजता पुर्‍याउने उद्देश्यले धनकुटा नपा-७ स्थित त्रिवेणी मावि मतदान केन्द्र र धनकुटा नपा-३ स्थित भाषा मावि मतदान केन्द्रमा अपाङ्गतामैत्री बाटो निर्माण गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीप शाहले बताए ।

अपाङ्गतामैत्री बाटो निर्माण भएसँगै अपाङ्गता भएका मतदाताहरूलाई हृवील चियरमार्फत मतदान केन्द्रमा आउन जान सहज हुने भएको छ । जिल्लामा कुल मतदाता ९५ हजार ३ सय ६७ मध्ये १ हजार १ सय ७३ जना अपाङ्गता भएका मतदाता रहेका छन् ।

चार गाउँपालिका र तीन नगरपालिका रहेको धनकुटामा १ सय १७ वटा मतदान स्थल र १ सय ४३ ओटा मतदान केन्द्र तोकिएको छ । प्रायः मतदान केन्द्रहरू विद्यालयमा भएकाले पहिले नै कतिपय मतदान केन्द्र अपाङ्गतामैत्री रहेको बताइएको छ । ‘त्यसमा पनि यी दुई मतदान केन्द्र बढी जोखिमपूर्ण र अपाङ्गतामैत्री नभएकाले नयाँ निर्माण गरिएको हो ।’-जिल्ला निर्वाचन अधिकारी शाहले बताए ।

अन्य

भिडियो