समयमा सरकारले पाठ्यपुस्तक उपलब्ध नगराउँदा पठनपाठनमा समस्या भएको छ । जसका कारण बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुनु परेको छ ।
नेपालको संविधान, २०७२ ले धारा ३१ मा शिक्षाको अधिकारलाई मौलिक हकको रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार नयाँ शैक्षिक सत्र सुरू भए पनि पाठ्यपुस्तक प्राप्त नहुँदा जिल्लाका सामुदायिक विद्यालयको पठनपाठनमा समस्या भएको छ ।
नयाँ पाठ्यपुस्तक नपाउँदा विद्यार्थी र शिक्षक दुवैलाई समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
नयाँ शैक्षिक सत्र सुरू भएपछि पाठ्यपुस्तक नआउँदा अध्ययन गर्न, गृहकार्य गर्न समस्या भएको खिजीदेम्बा गाउँपालिका–५ जनज्योति आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा मनिषा सुनुवारले गुनासो गर्नु भयो ।
जिल्लाका अधिकांश विद्यालयमा पुराना पुस्तकबाट अध्ययन अध्यापन भइ रहेको शिक्षकहरूले बताएका छन् । इलाइवेरी जडान गरिएको विद्यालयमा समस्या कम भएको छ । इलाइवेरी नभएको अन्य विद्यालयमा पठनपाठनमा समस्या देखिएको चिशंखुगढी गाउँपालिका–२ सरस्वती माध्यमिक विद्यालय पोखरेका प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले बताउनु भयो ।
विगतका वर्षहरूमा विद्यालयमा समयमा पाठ्यपुस्तक आउने भएपनि जेठको तेस्रो सातासम्म कुनै पनि विद्यालयमा पाठ्यपुस्तक नआएको सिद्धिचरण नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक नारायणगोपाल ढकालले बताउनु भयो ।
निर्वाचनको मतपत्र छाप्ने कार्यले गर्दा विद्यालयको पाठ्यपुस्तक छाप्न ढिला भएको जनशिक्षा सामग्री केन्द्रले जनाएको छ । गत वर्ष कोरोना र यस निर्वाचनको कारणले गर्दा पुस्तक छपाइमा ढिला भएकाले पुस्तक नआएसम्म पुराना पुस्तक बाँडेर पठनपाठन गराउन निर्देशन दिएको शिक्षा विकास समन्वय इकाईका प्रमुख नेत्रप्रसाद गजुरेलले बताउनु भएको छ ।
पाठ्यपुस्तक छपाइको काम भइ रहेकाले जेठ अन्तिमसम्म जिल्लामा पाठ्यपुस्तक आउने कार्यालयले जनाएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार शैक्षिक सत्र सुरू भएपनि जिल्लाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको अभाव छ ।
जिल्लामा ३ सय १५ ओटा आधारभूत र ६९ ओटा माध्यमिक विद्यालय छन् । अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेका छैनन् । स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नु परेको भन्दै जनक शिक्षा सामाग्रीबाट नै पुस्तक नपाएपछि पुस्तक बिक्रेताहरू समयमा विद्यालयहरूलाई पाठ्य पुस्तक दिन सकेका छैनन् ।
यशोधरा माध्यामिक विद्यालय भोजपुरका शिक्षक बिष्णुकुमार राईले भन्नुभयो, “कक्षा ४, ७ र ९ मा यो वर्ष लागू हुने कोर्ष नयाँ हो । नयाँको त कुरै भएन पुरानै कोर्ष कक्षा १ देखि १० को पाठ्यपुस्तक समेत आएको छैन । पाठ्यक्रमबाट मात्रै पनि शिक्षण गर्न त शिक्षकले सक्छन् तर विद्यार्थीमा पाठ्यपुस्तक विना पढ्ने मनोविज्ञान नबन्दा शिक्षण सिकाई थप प्रभावित भएको छ ।” यस बारेमा जिम्मेवार निकायले चासो नै देखाएका छैनन् ।
पुस्तक नहुँदाको समस्याका बारेमा जाल्पा माध्यामिक विद्यालय भैसीपङ्खाका शिक्षक बमबहादुर कार्की भन्नुहुन्छ, “पुस्तक छाप्ने बेलामा मतपत्र छापियो रे, निर्देशन जेठ पहिलो हप्ताबाट पठनपाठन शुरू गर्नु भन्ने थियो, जेठ तेस्रो साता भयो, पुस्तकको पत्तो छैन ।
इन्टरनेटको पहुँच पुगेका ठाउँमा पाठ्यक्रम डाउनलोड गरेर कक्षा चलाउन सकिएला तर इन्टरनेटको पुहँचमा नभएको जिल्ला वा विद्यालयमा यो विधि सम्भव छैन ।” कोरोनाका कारण प्रभावित शैक्षिक संस्थाहरूमा यस वर्ष पनि पुस्तक अभावका कारण समयमा पठनपाठन हुनेमा समस्या भएको छ ।
जिल्लाका केही विद्यालयहरूले पुरानो पाठ्यक्रमबाट पठनपाठन सुचारू गरे पनि कक्षा ४ र ७ को पुस्तक भने अभाव भएको सम्बन्धित विद्यालयका शिक्षकको भनाइ छ । जनसेवा आधारभूत विद्यालयका शिक्षक गोपाल पराजुलीले भन्नुभयो, “अन्य कक्षाको पठनपाठन पुरानो पुस्तकबाट भएपनि कक्षा ४ र ७ को पठनपाठनमा भने पुस्तक अभावका कारण समस्या छ ।” जिल्लाका ग्रामीण क्षेत्रहरूमा पाठ्यपुस्तक पुगेका छैनन् । “सदरमुकाम मै त पुस्तक आएको छैन, ग्रामीण क्षेत्रका विद्यालयहरूमा त अहिले कहाँ पुस्तक आई पुग्छ र ।” शिक्षक पराजुलीले भन्नु भयो ।
सरकारले पाठ्यपुस्तक छपाइमा गरेको लापरवाहीका कारण अध्ययनरत विद्यार्थी तथा शिक्षकहरू मारमा परेको विद्यालयहरूले जनाएका छन । सरकारको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रीत भएका कारण शैक्षिक क्षेत्रमा आवश्यक चासो नदेखाउँदा जेठको तस्रो हप्तासम्म पनि पाठ्यपुस्तकको टुङ्गो लाग्न नसकेको सरोकारवालाहरूको भनाइ छ ।
एकादशी आधारभूत विद्यालय भुल्केमा पाठ्यपुस्तक अभावका कारण पठनपाठन सुचारू गर्न नसकिएको शिक्षक डम्वर गुरागाईको गुनासो छ । उहाँले भन्नुभयो “अहिलेसम्म कुनै पनि कक्षाको पुस्तक उपलब्ध भएको छैन, पुरानो कितावबाट शिक्षण सिकाइ भइरहेको छ ।”
जनकल्याण आधारभूत विद्यालयका शिक्षक योगराज लुईटेलले कक्षा ४, ६, ७ र ८ को नयाँ पुस्तक नआएकाले पुरानाबाट नै पठनपाठन भइरहेको बताउनु भयो ।
पुस्तक बिक्रेताहरूले समेत पुस्तक छाप्न ढिला हुँदा विद्यालयहरूमा पुस्तक पठाउन नसकिएको गुनासो गरेका छन् । पुस्तक बिक्रेता रजनी स्टोर भोजपुरका प्रमुख अवनी शाक्यले पुस्तक लिनका लागि विराटनगर जाँदासमेत पुस्तक नपाइएको बताउनु भयो ।
जेठ १ गतेदेखि सम्पूर्ण विद्यालय सञ्चालन भएको शिक्षा समन्वय इकाई भोजपुरका प्रमुख रूद्रबहादुर राईले बताउनु भयो । तर पनि छपाइ ढिला भएकाले शैक्षिक सत्र सुरू भएको एक महिना बित्न लाग्दा समेत पूर्णरूपमा पाठ्यपुस्तक आउन नसकेका कारण बालबालिका शिक्षाको अधिकारवाट वञ्चित हुनु परेको राईको भनाइ छ ।