वन्यजन्तु आक्रमणमा घाइते भएका बिरामीहरूको जिल्ला अस्पताल, हुम्लामा उपचार हुन नसकेपछि अस्पतालले जिल्ला बाहिर रिफर गर्दा बिरामीहरूले सास्ती भोग्दै आएको गुनासो गरेका छन् ।
पछिल्लो समयमा नाम्खा गाउँपालिका–४ यालवांङका ४८ वर्षीय कुन्जेन लामाले यस्तो गुनासो गरेका हुन ।
लामा जेठ १७ गते भालुको आक्रमणबाट घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पतालमा लगियो । उनको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि जिल्ला बाहिर रिफर गरिएको छ । घाइते लामा यालवांङ गाउँको नजिकै रहेको घट्टको फेदारो बनाउन जानेक्रममा भालुको आक्रमणमा परी घाइते हुनु भएको थियो ।
सोही दिन दिउँसो १ बजेको समयमा गाउँ नजिकै रहेको घट्टको फेदारो बनाउन जङ्गलमा जाँदा भालुले आक्रमण गरेपछि लामा घाइते भएको आफन्त कार्मा तामाङ्गले जानकारी दिनु भयो । उहाँका अनुसार भालुको आक्रमणमा परेका लामाको देव्रे भागको पुरै कान च्यातेर लगेपछि जिल्ला अस्पताल, हुम्लामा सामान्य उपचार भए पनि थप उपचारका लागि जिल्ला बाहिर लग्नु पर्ने गुनासो गर्नु भयो ।
जिल्लामा कानको उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिनु भयो । जिल्ला अस्पताल, हुम्लामा घाइतेको कानको जाली चेक गर्ने मेसिन नभएका कारण काठमाण्डौंको किर्तिपुर अस्पतालमा रिफर गरिएको निमित्त प्रमुख बोहराको भनाई छ ।
घाइतेको कान समेत नयाँ हाल्नु पर्ने भएका कारण जिल्ला बाहिर रिफर गर्नुपर्ने देखिएकाले जेठ १७ गते बेलुका नै रिफर गरिएको भएपनि जेठ १८ गते हुम्लामा कुनै पनि हवाई उडान नहुँदा घाइते बिरामी हाल जिल्ला अस्पतालमै रहेको बोहराले जानकारी दिनु भयो ।
सडक सञ्जालले नछोएको र भने अनुसारको समयमा प्लेनको टिकट नपाउने हुम्लाका बिमारीको उपचार जिल्ला अस्पतालमा हुन नसक्दा बिरामीहरूले सास्ती भोग्दै आएका छन् ।