२५ वर्षीया युवतीलाई बलात्कार गरेर बेचबिखन गर्न खोजेको आरोपमा पर्सा प्रहरीले मोरङ जिल्ला कटहरी गाउँपालिका–४ घर भई हाल बीरगंज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ जोगीवडा स्थायी घर भई हाल बीरगंज महानगरपालिका–१६ फूलबारी टोलमा बस्ने ३५ वर्षीय हरिश्चन्द्रनाथ योगी र बीरगंज महानगरपालिका–१६ की ४२ वर्षीय लक्ष्मी बुढाथोकीलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।
विवाहको प्रलोभन देखाएर बलात्कार गरी बेचबिखन गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई गिरफ्तार गरेको जनाएको छ ।
पीडित युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर जेठ ५ गते बीरगंज बोलाई बसपार्कस्थित होटलमा राखी आरोपित सुरजले पटकपटक बलात्कार गरेर जेठ ९ गते होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई ‘फरार’ भएको प्रहरीले जनाएको छ ।
जेठ १० गते लक्ष्मीले हरिश्चन्द्रनाथको साथमा युवतीलाई पठाएको अनुसन्धानको क्रममा खुलेको छ ।
हरिश्चन्द्रनाथले युवतीलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिएर पटकपटक बलात्कार गरेर कोठामै बन्धक बनाएर राखेको प्रहरीद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
जेठ १४ गते राति मौका छोपेर युवती उक्त स्थानबाट भागेर आफन्तको सम्पर्कमा आएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
घटनाको विवरण प्राप्त भएपश्चात बीरगंजका विभिन्न स्थानबाट आरोपितहरूलाई गिरफ्तार गरी जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १५ गते नारायणी अस्पताल बीरगंजमा गरिएको छ ।