रोल्पा कारागारमा शंकाष्पद मृत्यु भएका नेपालगञ्ज उप–महानगरपालिका–२ का सुन्दर हरिजन घटनाको तथ्य संकलनकालागि इन्सेक सम्मिलित अधिकारकर्मीहरूको टोलीले जेठ १८ गते रोल्पा पुगेर अध्ययन थालेको छ ।
टोलीमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, नेपालगञ्ज उच्च अदालत बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिका संयोजक झबिन्द्रप्रसाद पौडेल रहेका छन् ।
टोलीले रोल्पा कारागार, प्रहरी र प्रशासन प्रमुखसँग भेटी घटनाको सत्य तथ्य बुझ्ने इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।
यस अघि अनुगमन टोलीले पीडित परिवार, बाँके कारागार, प्रशासनसँग घटनाबारे जानकारी लिइ सकेको एडभोकेसी फोरमका बसन्त गौतमले बताउनु भयो ।
चोरी मुद्दामा रोल्पा कारागारमा रहेका सुन्दर हरिजनको ०७९ जेठ ४ गते शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेपछि उनको मृत्युको घटना शंकाष्पद बनेको छ ।
चोरी मुद्दाको पुर्पक्षकालागि कारागार चलान भएका सुन्दर हरिजन अदालतको फैसला बमोजिम रिहा हुनु पर्नेमा उनको नामबाट हातहतियार तथा खरखजाना मुद्दाका बिजय बिक्रम शाह रिहा भएका र कैद भुक्तान गरि पहिले छुट्नु पर्ने सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु भएको घटनालाई परिवारजनले आशंकाकोरुपमा लिएका छन् ।
अनुगमन टोलीले अध्ययन पछि प्रतिवेदन सार्वजनिक गर्ने अधिकारकर्मीहरूद्वारा जेठ १७ गते प्रकाशित विज्ञप्ती मार्फत जनाएको छ ।