INSEC Online

📅 २०८३ जेष्ठ २१

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

गुराँस गाउँपालिकाको ८ नम्वर वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्दै आएका राउटेहरूलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गुराँस गाउँपालिका–८ का नवनिर्वाचित वडाअध्यक्ष दीपेन्द्र ओलीको टोलीले जेठ १४ गते उक्त सुरक्षा भत्ता वितरण गरेको हो ।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्ष अघि गुराँस गाउँपालिका–८ ले स्थानीय नागरिकका रुपमा परिचय–पत्र वितरण गरे यता संघीय सरकारले गुराँस गाउँपालिका ८ नम्बर वडा कार्यालय मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

हरेक दुईतीन महिनामा बस्ती सर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका ४० परिवारका १ सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजार रुपियाँका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका–८ का वडासचिव सुस्मिता खड्काले जानकारी दिनु भएको छ ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक दुई÷तीन महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय प्रायजसो दैलेखमा बस्ने गरेकाले संघीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ नम्बर वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।

संघीय सरकारले गुराँस गाउँपालिका ८ नम्बर वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता पठाउने गरेकाले राउटे समुदाय बस्ती जहाँ पुग्छन् गुराँस गाउँपालिका ८ नम्बर वडा कार्यालयले त्यही पुगेर सुरक्षा भत्ता वितरण गर्न थालेको छ । राउटेहरू जहाँ पुग्छन् त्यही गएर सुरक्षा भत्ता वितरण गर्ने सरकारले गुराँस गाउँपालिका ८ नम्बर वडा कार्यालयलाई जिम्मेवारी दिएकोमा सहज भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हिरासिंह थापाले बताउनुभयो ।

राउटे समुदायलाई स्वास्थ्य सरसफाई र सामाजिक अन्तरघुलनमा अभ्यास गराउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे उत्थान परियोजना सञ्चालन गरेको छ । दुई जना स्वास्थ्यकर्मी र दुई जना सामाजिक परिचालक पनि राउटेको बस्ती सरेसँगै राउटेहरूको आनीवानी सुधारमा सहयोग गर्ने गरेका छन् ।

२०५८ मा १ सय ८० जना, २०६८ को जनगणनामा १ सय ६६ जना जनसङ्ख्या रहेको राउटे समुदायको विषयमा पहिलो पटक गुराँस गाउँपालिकाले सङ्कलन गरेको तथ्याङ्क अनुसार २०७४ असारमा १ सय ४९ जना रहेकोमा अहिले १ सय ४४ जना छन ।

जनगणनाको तथ्याङ्कलाई केलाउँदा राउटे समुदायको जनसङ्ख्या घट्दै गरेको छ । जन्मान्तर वा परिवार नियोजनको शिक्षा लिनै नचाहने राउटे समुदायको जनसङ्ख्या घट्नुको मुख्य कारण बढ्दो मृत्युदर हो । सिकार खेल्न जाँदा मृत्यु, खानपिन र बस्ने टहराहरूले स्वास्थ्य अनुकुल नभएको कारण मृत्युदर बढेको अध्येताहरूको भनाई छ ।
DailekhPhoto_2022-05-30 (1) DailekhPhoto_2022-05-30 (2) DailekhPhoto_2022-05-30 (3) DailekhPhoto_2022-05-30 (4)

अन्य

भिडियो