अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा ०७९ जेठ १३ गते मानव अधिकार संरक्षण र सम्बर्धनमा सरोकारवालाको भूमिका विषय अन्तरक्रिया कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।

इन्सककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठको उपस्थितिमा मन्थली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीले नागरिकका आधारभूत अधिकारलाई सम्बोधन गर्ने कुरामा सरोकारवाला निकाय गम्भीर हुनुपर्ने सुझाव दिनुभएको छ ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मन्थली नगर कार्यपालिकाको पहिलो बैठकबाटै नगरपालिकालाई बाल श्रमिक मुक्त नगर बनाउने निर्णय गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले समृद्ध समाज निर्माणको पहिलो आधार शिक्षा भएकोले शिक्षा गुणस्तरलाई प्राथमिकता राख्ने बताउनुभयो ।
यससँगै स्वास्थ्य, कृषि, सिँचाई लगायतका कार्यक्रमलाई प्राथमिकता दिने पति नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले स्थानीय सरकारलाई नागरिकको आवश्यकतामा जोडिएर काम गर्न आग्रह गर्नुभयो ।
यसरी काम गर्दा मानव अधिकारको विषय सम्बोधन हुने पनि उहाँको धारणा थियो ।
डा. श्रेष्ठले मानव अधिकार उल्लङ्घनको घटनामा सबैभन्दा बढी महिला पीडित हुने गरेको तथ्यले देखाएको बताउनुभयो ।
पीडित मध्ये ८३ प्रतिशत महिला हुने इन्सेकको तथ्याङ्कले देखाएको उहाँले बताउनुभयो । कानुन भएर पनि कानुनको उचित कार्यान्वयन नहुँदा मानव अधिकार विरुद्धका घटना हुने गरेको उहाँले बताउनुभयो ।

इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार कार्यक्रम निर्देशक मदन पौडेलले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवालाई ध्यान दिने हो भने धेरै अधिकारका विषय सम्बोधन हुने बताउनुभयो ।
यस्ता धेरै काम स्थानीय सरकारले गर्न सक्नेमा उहाँले जोड दिनुभयो ।
इन्सेक वाग्मती प्रदेश संयोजक कृष्ण गौतमले इन्सेक मानव अधिकारको क्षेत्रमा सहकार्य र सञ्जालिकरण गर्न सँधै तयार रहेको बताउनुभयो ।
उहाँले संरचना मात्र होइन व्यवहार पनि मानव अधिकार मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जालमा रहेर काम गर्न ुभएका नवनिर्वाचित नगरप्रमुख श्रेष्ठलाई सञ्जालको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उहाँको कार्यकालमा मन्थली नगरपालिका मानव अधिकारमैत्री हुने अपक्षा गरिएको छ ।
