त्रिवेणी गाउँपालिका–२ राजागिठी निवासी नेपाली काँग्रेसका कार्यकर्ता ३७ वर्षीय खिम बहादुर पुनलाई ०७९ जेठ १० गते कुटपिट गरेको आरोपमा नेकपा एमाले निकट पाँच जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय, सल्यानले जेठ ११ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा त्रिवेणी गाउँपालिका–२ राजागिठीका ३४ वर्षीय सोबबहादुर पुन, १६ वर्षीय धिरज राम्जा, ३० वर्षीय जोगेन्द्र नेपाली, २० वर्षीय प्रकास नेपाली र ४५ वर्षीय इन्द्रबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख डीएसपी सुमित खड्काले जानकारी दिनु भएको छ ।
पीडित पक्षले जेठ १२ गते इलाका प्रहरी कार्यालय, लुहाममा लिखित उजुरी दिएका छन् । पीडित पक्षले जेठ ११ गते दिएको मौखिक उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जनाएको छ ।
एमालेबाट त्रिवेणी गाउँपालिका–२ का वडा अध्यक्ष हस्तबहादुर रामजाले आफ्नै घरमा विजयी भएको खुशियालीमा भोजको व्यवस्था गरेका बेला भोज सम्पन्न भएर घर फर्कने क्रममा नेकपा एमालेका कार्यकर्ताले लाठी प्रहार गरेर कुटपिट गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।
घाइते खिमबहादुर पुनको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको र टाउकोमा गहिरो चोट लागेपछि जेठ १० गते जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारका लागि सोही दिनदेखि कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । आरोपित पाँचै जनालाई इलाका प्रहरी कार्यालय लुहामको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताउनुभयो ।