जिल्ला अस्पताल, हुम्लामा निमोनिया र झाडापखालाका बिरामी बढेका छन् । निमोनिया र झाडापखालाका बिरामी हुनेमा अधिकांश बालबालिका रहेका छन् ।
जेठको पहिलो हप्तादेखि सो अस्पतालमा निमोनिया र झाडापखालाका बिरामी बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ ।
तीन वर्षकी छोरीलाई उपचार गर्न अस्पतालमा कुरुवा बस्दै आउनु भएकी खार्पुनाथ गाउँपालिका–५ की माया शाहीले छोरीलाई निमोनिया देखिएको बताउनु भयो ।
ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि जेठ ७ गतेदेखि छोरीलाई अस्पताल भर्ना गरेर उपचार गर्दै आएको बताउनु भयो ।
जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले एक हप्तादेखि दैनिक उपचारका लागि आउने बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको बताउनु भयो । बोहराका अनुसार १५ शैयाको अस्पतालमा १३ जना बालबालिका निमोनिया र झाडापखालाका बिरामी बालबालिका मात्रै भर्ना भएका छन् ।
अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वास प्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको उहाँको भनाई छ ।
बिरामी बालबालिका तीन वर्षमुनिका रहेका छन् । सिमकोट गाउँपालिकाबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडापखालाका बिरामी आउने गरेको सिअनमी बोहराले जानकारी दिनु भयो । बिरामी बालबालिका बढेपछि अस्पतालका शैयाहरू बिरामी र कुुरुवाले भरिएका छन् ।
अलि जटिल बिरामी बालबालिकालाई अस्पतालमा भर्ना गर्ने गरेको र सामान्यलाई उपचारपछि घर पठाउने गरिएको छ । अनमी बोहोराले दुुषित पानीको प्रयोग मौसममा परिवर्तन आएको, वर्षा हुुँदा चिसो बढ्नुु र आमाले खानापानमा ध्यान नदिएको कारण बालबालिकाको बिरामी सङ्ख्या बढेको बताउनु भयो ।
