रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको छ ।
प्रहरीले घटनाका बारेमा शाहकी आमालाई सुनाउदा आफ्नो छोरा केही महिना अघि नै कारागारबाट छुटेको र पत्नीलाई लिएर गएको जानकारी दिनु भएको भयो । शवको फोटो पठाउदा आफ्नो छोराको नभएको बताएपछि घटनाले नयाँ मोड लिएको हो ।
सुन्दर हरिजनको परिवारलाई बोलाएर सनाखत गराएपछि मात्र मृतक कैदी फरक नाममा कारागारमा रहेको पत्ता लागेको थियो ।
जिल्ला अदालत बाँकेले सुन्दर हरिजनलाई ३ महिना कैद र ५० हजार रूपियाँ जरिवाना सुनाएको थियो । ५ वर्ष कैद र ५० हजार रूपियाँ जरिवाना तोकिएका शाहको कैद नेपालगञ्जका हरिजनले भुक्तान गर्दै आएका भन्ने अनुमान गरिएको रोल्पा कारागार जेलर यामलाल वलीले बताउनु भयो ।
उनीहरू ०७७ मङ्सिर ८ गते बाँके कारागारबाट एकै दिन एउटै पत्रबाट सरुवा भएर रोल्पा कारागारमा आएको जेलर वलीले बताउनु भयो ।
रोल्पा कारागरमा आउँदा विजयविक्रमलाई बोलाउदा म हो भनेर सुन्दर हरिजन बोलेको र सुन्दर हरिजनको नाममा विजयविक्रम शाह बोलेकाले त्यहि पहिचानमा हालसम्म रोल्पा कारागारमा बसेको वलीले बताउनु भयो ।
सुन्दर हरिजन र विजय विक्रमको कुनै पनि परिचय खुल्ने कागजातहरू नगरिकताको फोटोकपि , फोटो र हुलिया समेत आफूहरू सँग नभएकाले उतैबाट साटिने योजना बनाएर आएको हुनसक्ने वलीको भनाई रहेको छ ।
उक्त घटनाको अनुसन्धानको लागी छानविन समिति गठन गरिएको छ र उक्त समितिले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । हालसम्म छानविन समितिले कुनैपनि बिवरण नदिएको जेलर वलीले बताउनुभयो ।
विजय विक्रम शाहलाई अपराधीक लाभ मुद्दाको लागी बाके जिल्ला अदालतले ०७६ असार ३० गते मुद्दा चलाएको थियो । शाहलाई अदालतले ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमाना फैसला सुनाएको थियो ।
उक्त घटनाको छानविनका लागि १० दिन भित्र प्रतिवेदन बुझाउने गरी जेठ ६ गते कारागार व्यवस्था विभागका निर्देशक झपेन्द्र चापागाईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ ।