चंखेली गाउँपालिका–५ की ३५ वर्षीया तुला तामाङ्गलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ ५ गते सुत्करी भएकी तामाङलाई तीन दिनदेखि रक्तश्राव भएपछि जेठ ७ गते जिल्ला अस्पताल हुम्लामा माउण्टेन हेलिकप्टरद्धारा उद्धार गरिएको विरामीका आफन्त सिङ्ग तामाङ्गले जानकारी दिनु भएको छ ।
सोही दिन बच्चा जन्माए लगतै तुलाको अवस्था गम्भिर भएको आफन्त सिङ्ग तामाङ्गले बताउनु भयो । तीन दिन अघिदेखि सुत्केरी भएकी तुला अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था कमजोर भएको सिङ्ग तामाङ्गले जानकारी दिनु भएको छ ।
बिरामीको शरीर सुन्निएर श्वास प्रश्वासमा समस्या भएको र गाउँमा प्रभावकारी स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार रुपियाँ हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट ल्याएको आफन्त तामाङ्गले गुनासो गर्नु भएको छ । ऋण सापट मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेको तामाङको भनाई छ ।
हुम्ला जिल्ला हालसम्म पनि सडक सञ्जालसँग नजोडिएपछि विकट ठाउँका नागरिकले समस्या झेल्नु परेको छ । गाउँमा रहेका स्वास्थ्य संस्था भरपर्दो नभएपछि सदरमुकाम सिमकोट पु¥याउनु पर्ने बाध्यता अझै कायम रहेको आफन्त तामाङ्गले दुखेसो पोख्नु भएको छ ।
आफूसँग आर्थिक समस्या भएको अवस्थामा बिरामी परेपछि आफन्तसँग ऋण मागेर सदरमुकाममा रहेको जिल्ला अस्पातालमा पु¥याउनु परेको आफन्तले दुखेसो पोखेका छन् । बिरामी तामाङ्गको जिल्ला अस्पातालमा भर्ना गरेर उपचार भइरहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनु भएको छ ।
