क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।
क्षिरेश्वरनाथ नगरपालिका–५ को मतगणनामा मत सङ्ख्या हेरफेर भएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस लगायतको दलीय प्रतिनिधिहरु बिच विवाद भई मतगणना कार्य स्थगित गरिएको हो ।
क्षिरेश्वनाथ नगरपालिकाको निर्वाचन अधिकृत विकास बस्नेतले लगातार मतगणना सुरू गर्ने प्रयास गरि रहँदा पनि राजनीतिक दलहरूबिच सहमति नभएकाले गणना सुरु हुन नसकेको बताउनु भयो ।
नेकपा एमालेले मत परिणाममा तलमाथि गरिएको आरोप लगाउँदै पुनः मत गणना गर्नुपर्ने अडान राख्दै आएको छ ।
नेकपा एमालेका सचिव रघुविर महासेठले जेठ ४ गते पत्रकार सम्मेलनको आयोजना गरी मतगणनामा धाँधली भएको आरोप लगाउँदै पुनः मतगणना नभएसम्म मतगणना कार्य स्थगित रहने बताउनु भयो ।
निर्वाचन अधिकृत विकास बस्नेतले यस विवादको सम्बन्धमा केन्द्रिय निर्वाचन आयोगलाई लेखी पठाएको र उताबाट आउने निर्देशन बमोजिम अघि बढ्ने बताउनु भयो ।
क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेसबाट निवर्तमान मेयर योगेन्द्र पञ्जियार, एमालेबाट सुखदेव यादव र एकीकृत समाजवादीबाट शिवशङ्कर प्रसाद सिंह उम्मेदवार हुनुहुन्छ ।
निवर्तमान मेयर पञ्जियार र सुखदेव यादवबिच कडा प्रतिस्पर्धा चलिरहेको छ । नेकपा एमालेका उम्मेदवारले अग्रता लिँदै आएको छ । पजियार कांग्रेसका जिल्ला सभापति समेत हुन् ।