INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थगित भएका मतदानस्थलहरुमा कडा सुरक्षाका बीच मतदान कार्य सम्पन्न

इन्सेक, बाजुरा प्रतिनिधि पदमबहादुर सि‌हका अनुसार बुढीनन्दा नगरपालिका–८ को पीसक्रेटर जोन एकेडेमी मतदानस्थलमा स्थगित भएको मतदान कार्य नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबिच जेठ ३ गते सम्पन्न भएको छ ।

वैशाख ३० गते मतदानस्थलमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएपछि मतदान कार्य स्थगित भएको थियो ।

जेठ ३ गते विहान ७ बजेदेखि सुरु गरिएको मतदान कार्य साँझ ५ बजेसम्म सञ्चालन गरिएको र कुल ८ सय ६४ मतदाता मध्ये ३ सय ७३ जना महिला र  ३ सय ६३ जना पुरुप गरी ७ सय ३६ जनाले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराव अवस्थीले बताउनु भयो ।

मतदान केन्द्रमा शान्ति सुरुक्षाको सुनिश्चितता गरी मतदाताहरुलाई भयरहित वातावरणमा मतदान कार्य सुचारु राख्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादिप्रहरी गरी २ सय सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा व्यवस्था मिलाइ शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चतुरभुज ओझाले बताउनु भयो ।

मतदान सकिए लगत्तै मतपेटिकाहरु मतगणनास्थलमा पुगाए लगत्तै मतगणना कर्य सुरु गरिने डिएसपी ओझाको भनाइ रहेको छ ।

इन्सेक, कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार पुर्नवास नगरपालिका–१० स्थित विजय माध्यमिक विद्यालयमा स्थगित भएको निर्वाचन जेठ ३ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

वैशाख ३० गते सञ्चालन भइरहेको मतदानका क्रममा नेकपा माओवादी केन्द्रका नेताहरुले फर्जि मतदातालाई मतदान गर्न लगाएपछि मतदान स्थलमा विवाद भई मतदान स्थगित गरिएको थियो ।

photo20220517kanchanpur (1)

पुर्नवास नगरपालिका–१० स्थित मतदानस्थलमा ३ हजार १५ मतदाता रहेकोमा २ हजार २ सय ३८ जनाले मतदान गरेको निर्वाचन अधिकृत किरण जोशीले बताउनु भयो ।

निर्वाचन अधिकृत जोशीका अनुसार जेठ ३ गते सञ्चालन गरिएको निर्वाचनमा १ हजार ७ सय ६४ पुरुष र ४ सय ७४ जना महिला मतदाताहरुले मतदान गरेका छन् ।

३ वटा मतदान केन्द्र रहेको वडा नम्बर १० मा मतदान केन्द्र ‘क’ मा ९ सय ८०, ‘ख’ मा १ हजार ८ र ‘ग’ मा १ हजार २७ जनाले मतदान गरेका छन् ।

photo20220517kanchanpur (2)

मतदानस्थलको सुरक्षाका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादिप्रहरीलाई परिचालन गरी मतदान कार्य सम्पन्न भएको र सर्वदलिय बैठकको आयोजना गरी राति नै मतगणना सुरु गरिने मतदान अधिकृत जोशीको भनाइ छ ।

यसैगरी वैशाख ३० गते राजनीतिक दलका कार्यकर्ताहरुबिच झडप भएपछि स्थगित गरिएको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ मा जेठ ३ गते पुनः मतदान कार्य सम्पन्न भएको छ । विनायक नगरपालिका–५ स्थित नवज्योती माविमा रहेको मतदानस्थलको ‘क’ मतदान केन्द्रमा ५ सय ४९ र ‘ख’ मतदान केन्द्रमा ५ सय ६२ गरी जम्मा १ हजार १ सय ११ जनाले मतदान गरेका छन् ।

photo20220517bajura

अन्य

भिडियो