खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा ०७९ वैशाख ३० गते स्थगित भएको निर्वाचन ०७९ जेठ २ गते हुने भएको छ ।
निर्वाचन आयोगले वैशाख ३१ गते सो स्थानमा जेठ २ गते पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।
वैशाख ३० गते बिहान मतदानका क्रममा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएपछि सो स्थानको मतदान रोकिएको थियो ।
नेपाली कांग्रेस र माआवादी कार्यकर्ताबी भएको झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाई फायर समेत गरेको थियो ।
त्यसपछि दिनभर सहमति जुटाउने प्रयास सफल हुन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव स्थगित गर्ने निर्णय गरेको थियो ।
राकाथुम मतदान केन्द्रमा २ हजार ८ सय ९५ मतदाता रहका छन् । मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जेठ २ गते राकाथुममा पुनः मतदान हुने जानकारी दिनुभयो ।
सो स्थानमा मतदान भएपछि मात्र खाँडादेवी गाउँपालिकामा मतगणना सुरु गरिने पनि उहाँले बताउनुभयो ।
दुई ओटा नगरपालिका र ६ ओटा गाउँपालिका भएको जिल्लाका अन्य मतदान केन्द्रमा भने वैशाख ३० गते नै मतदान सकिएका छ । सात ओटा पालिकामा बैशाख ३१ गतेबाट मतगणना सुरु गरिएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका–१३, कोशीदेखामा ३ गते पुन: निर्वाचन हुने
काभ्रेबाट इन्सेक प्रतिनिधि हिरामान तामाङका अनुसार पाँचखाल नगरपालिका–१३, कोशीदेखा स्थित श्रीराम मावि मतदानस्थलको स्थगित निर्वाचन जेठ ३ गते पुन: निर्वाचन हुने भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा श्रीराम मतदान केन्द्रमा विवाद भएपछि स्थगित गर्ने निर्णय भएको थियो ।
यस मतदानस्थलका दुई ओटा मतदान केन्द्रमा १७ सय ७८ मतदाता थिए । निर्वाचनमा खटिएका कर्मचारीले एमालेका एक स्थानीय नेतालाई एकैपटक १० वटा मतपत्र दिन लागेको भन्दै कांग्रेसका कार्यकर्ताले सो मतपत्र नियन्त्रणमा लिएपछि सुरु भएको विवाद झडपमा परिणत भएको थियो । मतदानको लागि प्रयोग भएका टेबल, कुर्सी तोडफोड भएको थियो । करिब ३ सय मत खसेपछि विवादहुँदा निर्वाचन प्रकृया नै अवरोध भएको थियो ।