INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आयोगद्वारा वैशाख २९ गतेसम्म ६६ व्यक्ति र संस्थालाई स्पष्टिकरण

निर्वाचन आयोगले वैशाख २९ गतेसम्म आचारसंहिता उल्लङ्घन गरेको भन्दै ६६ जना व्यक्ति र संस्थासँग स्पष्टिकरण सोधेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा हालसम्म ६६ ओटा सङ्घसंस्था तथा व्यक्तिहरूलाई स्पष्टीकरण सोधेको तथा सोधिएकामध्ये १० ओटा स्पष्टिकरणको जबाफ चित्तबुझ्दो नभएकाले कानुनी कारवाहीका लागि सिफारिस गरिएको बताउनु भयो ।

पौडेलका अनुसार आचारसंहिता उल्लङ्घनका २ सय घटनामा आयोगले अध्ययन गरिरहेको छ । २ सय ओटामध्ये नौ ओटा घटनामा सम्बन्धित व्यक्तिलाई सचेत गराइएको, एउटा घटनामा ध्यानाकर्षण भएको र अन्य केही घटना तामेलीमा राखिएको पौडेलले बताउनु भयो ।

आयोगकै सिफारिसमा प्रेस काउन्सिलले पनि २०७८ चैत २५ गतेदेखि सञ्चारमाध्यममा निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको छ ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराका अनुसार हालसम्म १ सय ६६ ओटा सञ्चारमाध्यमलाई कारवाही गरेको छ ।

कारवाहीमा परेकामध्ये ३६ ओटा मिडियालाई स्पष्टिकरण सोधिएको र दर्ता/सूचीकरण नभएका ५४ ओटा मिडियालाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको बोहोराले जानकारी दिनु भयो ।

काउन्सिलले सोही अवधिमा ८१ ओटा सञ्चारमाध्यमलाई आचारसंहिता पालनामा सजग रहन निर्देशन दिएको, १७ ओटालाई सचेत गराएको र थप १७ ओटालाई ध्यानाकर्षण गराएको छ ।

बोहोराका अनुसार सोही अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवार विशेषको पक्षमा प्रचारप्रसार गर्ने र मत माग्ने ५४ जना पत्रकारलाई समेत ध्यानाकर्षण गराएको छ ।

अन्य

भिडियो