वैशाख २७ गते मध्य रातिदेखि लागू भएको मौन अवधिमा सिद्धिचरण नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवारी दिनु भएका तेजेन्द्र खनालले मौन अवधिमा कार्यकर्ता भेला तथा अन्तरक्रिया गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले चुनाव प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने उल्लेख गरिएको भएपनि वैशाख २८ गते नेपाली कांगेसका जिल्ला सभापति तथा मेयर पदका उम्मेदवार खनालले विपरित हुने गरी कार्यकर्ता भेला गरेको आरोपमा सिद्धिचरण नगरपालिका–३ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार शिव बानिया र नेकपा एमाले नेता शङ्कर राईले वैशाख २८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।
उजुरीमा नेपाली कांग्रेस जिल्ला सभापति तथा गठबन्धनबाट मेयर पदका उम्मेदवार खनाल, कांग्रेसबाट सिनपा–३ का वडाध्यक्ष पदका उम्मेदवार सिताराम दाहाल, नेपाली कांग्रेस नेता तथा वडा सदस्य पदका उम्मेदवार डिल्लीराम खनाल लगायतका कांग्रेस नेता कार्यकर्ताले मौन अवधि उल्लङ्घन गर्दै आमभेला गरेकाले कारवाहीको माग गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले उजुरी दर्ता भएर छानबिन सुरू गरिएको बताउनु भयो ।
जिल्लामा चुनावी प्रचार अभियानका दौडान आचारसंहिता उल्लङ्घनका घटनाबारे कुनै उजुरी नपरे पनि मौन अवधिमा सुरू भएपछि भने आचारसंहिता उल्लङ्घन बारेमा उजुरी परेको मुख्य निर्वाचन अधिकृत केसीको भनाइ छ ।
दर्ता भएका उजुरी माथि तत्काल छानबिन गरी दोषी ठहरिए कानुन बमोजिम कारबाही हुने मुख्य निर्वाचन अधिकृत केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

